विपन्नहरुको न्यानो घाम छलेर
अपाङ्गहरुलाई ओरालो र उकालो थापेर
सबैको आँसुले नुहाउँदै
कैयौँ रहर र मनहरूलाई आफूमा बिलाउँदै
एउटा पहाड
मानिसहरूका आँखामा विषाद थापेर उभिएको छ
मानिसहरूको भित्र-जहाँ मन छ
त्यस भित्र-
शङ्कालाई जूवाको खालमा थापेर
एक पटक वल्झाउँदै – फेरि वल्झाउँदै
त्यो पहाड – निश्चल छ
अझै पहाड उभिएको छ ।
म पनि पहाडको पूजा गर्छु
तर त्यस्तो पहाड-
जसले मान्छेका मनमा उत्साह भर्न सक्छ
आफै- पहाड सिर्जनाको मुहान वन्न सक्छ
माया र स्नेहका मुना छातीभरि बोक्न सक्छ
आँखा र मनमा उत्साहको खोला वगाउन सक्छ
छातीभरि मन हुन्छ, वन हुन्छ, रहर र बैँस हुन्छ ।
तर-यो पहाड जर्जर छ
यसले मान्छेका मनभरि पीर छर्न सक्छ
उत्साह र जाँगर हर्न सक्छ
कति निरस छ- यो पहाड
यसलाई सम्झदा दिन-दाहाडै रुन मन लाग्छ ।
यहाँ चाहनाको पनि वहाना हुँदो रहेछ
अकास्सिएको मन पनि भूमिगत हुँदो रहेछ
कैयौँ जोडा हातहरू – भाँच्चिए -जो पहाड भत्काउन
उठेका थिए
कैयौँ जोडा आँखा फुटे- जो पहाड लडाउन
चम्किएका थिए
धेरै मनहरू भत्किए- तर पहाड त्यसै छ
धेरै युद्धहरू सकिए – तर पहाड सङ्गै छ ।
एउटा भूकम्प उठिदेओस्- र पहाड भत्काओस्
एउटा ज्वालामुखी फुटिदेओस्- र पहाड लडाओस्
अनगिन्ती साथहरू जुटून् र फेरि त्यहाँ सजाउन्
मान्छेको मन हाँसोस्, आँखा हाँसोस्
वन हाँसोस् र यौवन हाँसोस् ।