बिदा हुँदा

ती केटा-केटीका आँखामा छल्केको आँसुले,
मेरो वाटो छेक्न खोजे जस्तो लाग्थ्यो
आत्मीयहरुको ओठमा छाएको विषादले
मलाई रोक्न खोजे जस्तो लाग्थ्यो
विदीर्ण मेरो छात्तीभरि
माया मात्रै अटेसमटेस भए जस्तो लाग्थ्यो
जीवनका विगत पाताहरू पल्टाउँदै जाँदा
बिदाको पहिलो दिन जस्तो लाग्थ्यो ।
हातभरि थापेका फूलका थुँगाहरुलाई
मुटुहरू थापे जस्तो लाग्थ्यो
गलाभरि लागेका मालाहरूलाई
आँत साटे जस्तो लाग्थ्यो
निधारभरिका अक्षतालाई
नमेटिने आत्मीयता टाँसिए जस्तो लाग्थ्यो
आँखाभरि आँसु टप्केका केटा-केटीका अनुहारमा
नेपालको भाग्य टल्केको जस्तो लाग्थ्यो ।