लेख / रचनाहरू

● आमा

चेतना शून्य, अन्धकार र अनकन्टार रहेछ त्यति बेला फुएतप्पा । कुरा सुन्दा, शायद निमोनियाँ र डाइरिया भएको थियो, मेरी आमालाई । म ९ महिना र केही दिनको रहेछु । मेरी आमा बित्नु भए छ । दबाइको कुनै चक्की र झोल भेट्नु भएन छ । हुन्थ्यो, त्यस्तै नै । पाँचथरको आरुबोटेबाट बचपनमै विवाह गरेर मेरो बाले ल्याउनु भएकी मेरी आमाले फुएतप्पाको गृहस्थमा जीवन गुजार्नु भयो । हामी तीन छोरा र दुई छोरीलाई जन्म दिएर २००६ सालको चैत्रमा मेरी आमा यस लोकबाट बिदा हुनु भए छ । म १० महिना पनि नपुगेको चिचिलो रहे छु । यसरी शुरु भए छ, चेतना शून्य, अन्धकार र त्यस बेलाको अनकन्टार फुएतप्पामा मेरो जीवन । यसरी नै मेरी आमाको इह लीला पनि समाप्त भएको रहेछ । अरू बालकलाई आमाको माया ममता¸स्नेह जसरी बोध हुन्छ ¸मलाइ त्यसरी बोध भएन ।

मैले आमाका बारेमा केही लेख्न रहर गरेको छु । मलाइ सजिलो भै रहेको छैन । जसलाई मैले देखेको थिएन¸ जसको मैले माया बोध गरिन ¸जसलाई म सम्झन सकतिन र जसलाई जान्ने उचित सामाग्री भेटिँदैन । त्यति बेला फोटो खिचिने प्रविधि त्यस ठाउँमा भित्रिएको थिएन । फोटो छैन । मेरी आमा लाइ देखेको कुनै चित्रकार भै दिए म उसलाई अनुरोध गरेर एउटा चित्र बनाइ माग्ने थिएँ । त्यो पनि भएन । ठूली आमा ¸सानी आमाहरू र मामाहरूको अनुहार सम्झेर मैले आमाको अनुहारको अनुमान गरे । त्यो त फगत अनुमान रहयो कुनै टुङ्गो लागेन । त्यसता मान्छेका बारेमा लेख्न सजिलो हुँदैन तर मैले लेख्ने रहर गरेको छु । मलाइ नै थाहा छैन के लेख्छु ? मलाइ आमाको जन्म मिति ठीक थाहा छैन । मेरो अनुमानमा बि सं १९७० को आसपास हुनु पर्छ । बि सं २००६ सालमा लगभग ३५।३६ वर्षकी हुँदा बित्नु भएको हो । मेरो ठूलो दाजु टीका नाथ खनाल १९९० सालमा जन्मनु भएको थियो । आमा कति वर्षकी हुँदा विवाह भयो भन्ने बारे मलाइ ठीक जानकारी नभए पनि १० वर्षकै आसपासमा विवाह भएको हुनु पर्छ । त्यति बेला विवाह गरेर तीन वर्ष देखि पाँच वर्ष माइतमै छाड्ने चलन थियो । त्यस पछि मात्र मैतालु ल्याउने चलन थियो । त्यसै गरियो होला ।

आमा आरुबोटे बाझोगरामा जन्मनुभयो । त्यहाँ १४ , १५ वर्षसम्म बस्नुभयो र फुएतप्पामा आउनुभयो । ३५¸,३६ वर्षको उमेरमा बित्नु भयो । २०¸२२ बर्ष फुएतप्पामा बिताउनु भयो । कुरा त यति नै हो तर मैले यति भित्रबाट लेख्न खोजेको छु । लेख्ने कुरा पनि छैन । आमा माइतकी माइली छोरी , घरको जेठी बुहारी हुनुहुन्थ्यो । छोरीलाई माइतमा सहज हुन्छ । घरमा गाह्रो हुन्छ । अझ त्यो समयमा एउटी किशोरीलाई पर घरमा हुने असहजता अनुमान गर्न सकिन्छ । त्यो बेलाको फुएतप्पाको खनाल परिवारमा एउटी किशोरी मैतालुका रूपमा भित्रिँदा मेरी आमालाई पक्कै सहज थिएन । त्यो भन्दा सहजको अर्को बाटो पनि थिएन ।संयुक्त परिवार, जेठी बुहारी , त्यस बखतको प्रचलन , वास्तवमा महिलाहरू धन्य बाँच्थे । त्यस बेलाको महिला चेतना र विवाह गर्ने उमेर सम्झदा अत्यास लाग्दछ । हुन त भर खरै सम्म सती प्रथा चलेको समय थियो, त्यो समय । एक हिसाबले सम्झदा सती हुनु भन्दा कठोर थियो महिलाहरूको त्यो बेलाको जीवन । महिला अधिकारका चर्चा नचल्ने त्यो समयमा महिलाहरूमा के गुज्रेको थियो भनेर अहिले पनि कसैले सोचेका छैनन् । साथै महिला अधिकारका अभियन्ताले पनि इतिहास नियाल्न जाँगर चलाएका छैनन् । हो ¸महिलाहरु सती हुदा एकपटक मर्थे । सती हुनु भन्दा अगाडी पटक पटक मर्थे । त्यसरी जीवनमै पटक पटक मरेको कुराको त अहिले सम्म हिसाब नै छैन ।

त्यो समयमा फुएतप्पाकी जेठी बुहारी भनेको भालेको डाकमा उठ्ने , पानी भर्ने, दैलो अगेनो पोत्ने , भात भान्सा तयार गर्ने, केटाकेटी ठूला बडा सबैलाई खुवाउने , धन्दा सक्ने , राहुते नर्कटे तथा घर बारीतिरको मेलो भ्याउने, गाइ बस्तुलाई घाँसपात खोलेको बन्दोबस्त गर्ने र भकारा सोहोर्ने आदी हो । बेलुका पनि भात भान्सा र जुठो भाँडो सकेपछि ठूला मान्छेहरूलाई गोडामा चिल्लो लगाइ दिए पछि मात्र सुत्न पाउने समय आउने हो । अझै ढिकी जाँतो गर्ने जिम्मा पनि बुहारीको हो । संक्षेपमा भन्दा बुहारी भनेको त्यस घरकी गतिलो करिया हो । मेरी आमाले त्यस्तै करियाको जीवन बिताउनु भयो । त्यस समयका सबै आमाहरु त्यस्तै करिया हुन्थे ।आज पनि निम्न बर्गकाआमाहरुको अवस्थामा धेरै सुधार त भएको छैन । माता तिर्थे ‌औसीका दिन फेसबुकका वालमा फोटो राखेर बर्ष भरि आमाको बेवास्ता गर्ने प्रबृत्ति भने व्हात्तै बढेकोछ । आजको दिनले जीवित आमाहरुलाइ स्याहार संभार र सन्मान गर्ने प्रेरणा सबै सन्तानहरुलाइ प्राप्तहोस् ।