- Home
- त्यो बालक कहिले जन्मन्छ ?
- आफ्नै कुरा
आफ्नै कुरा
६÷७ बर्ष अगाडि, अखवारमा छापिइसकेका केही रचनाहरु जो १५० पेज जतिमा थिए, तिनलाई एउटा पुस्तकको रुपमा प्रकाशन गर्ने रहर जस्तै लाग्यो । कम्प्युटरबाट प्रिण्ट निकालेपछि संयोगले खगेन्द्र संग्रोलाज्यूसंग भेट भयो । उहाँबाटै भूमिका लेखिमाग्ने रहर पनि जाग्यो र अनुरोध गर्दै उहाँलाई दिएँ । लामो समयसम्म उहाँले भूमिका नपठाइदिनु भएपछि मलाई लाग्यो उहाँले मेरा रचनाहरु छाप्न योग्य ठहराउनु भएन र मलाई खबर गर्नु भएन । मैले उहाँको मौनतालाई त्यसरी नै बुझें र फेरि भेट हुँदा पनि कुरै गरिन । उहाँले पनि कुरै गर्नुभएन । मैले निबन्ध संङ्ग्रह निकाल्ने योजना नैं त्यगी दिए । ती निबन्धहरु अखवारमा लेखिएका लेखहरुको संकलन जस्तै थियो र त्यो नछाप्ता नै उचित हुने हो कि जस्तो मलाई लागेको थियो । फेरि रहर नै भनौं पलायो, रहर अनेक कारणले पलायो । त्यस भित्रका केही र नयाँ लेखिएका केही जम्मा पारेर यो संकलन तयार भएको छ ।
त्यसो त निबन्ध लेख्ने उद्देश्य र बिचारले यी कुनै निबन्ध लेखिएका हैनन् । कुनै मनका लागेको कुरा लेख्तै जाँदा जन्मिए । कुनै अखवारहरुमा केही लेख्ता जन्मिए । कुनै कसैको अनुरोधमा, कुनै प्रकाशनका लागि केही लेख्ता जन्मिए । त्यसैले यी निबन्ध जस्ता नहुन पनि सक्छन् । लेखिएका कुरा जे छन् अब पाठकहरुका हातमा छन् । यिनले केही साहित्यिक महत्व राख्छन् वा पुस्तकका रुपमा प्रकाशित गर्नु लेखकको फगत रहरमात्र हुने हो, त्यो पनि अब लेखकको हातबाट बाहिर भएको छ । प्रकाशन समाग्री हिफाजत नगर्नु र सूचना, बिबरणसमेत उपयुक्त रुपमा नराख्नुको कारणले कुन रचना कुन मितिको र के मा प्रकाशित भएको थियो भन्ने बिबरण उल्लेख गर्न सकेको छैन । रचनाहरु २०३० आसपासबाट लेखिएकाछन् । युगज्ञान, स्वधीनसम्बाद, जन–संसद, बिबेचना, मेचीटाइम्स, सुसेली र यस्तै अरुपनि पत्रिकामा प्रकाशित भैसकेका रचनाहरु यी हुन् भने यस संकलनमा परेका केही रचनाहरु पहिलोपल्ट प्रकाशित हँुदैछन् ।
समयका हिसाबले ‘बिज्ञापन’, ‘बाबू’, ‘कागजका टुक्राहरु’, ‘हामी कण्डक्टर हौं’, ‘दार्जिलिङमा दुई दिन’ पुराना तथा २०३०–२०३३ ताका लेखिएका रचनाहरु हुन् भने ‘नाङ्गाहरु बालकको प्रतीक्षामा छन् कि ?’, ‘कुरुपहरु ऐना हेर्दैनन्’, ‘समय क्रुर पञ्जाबाट फुत्कने छ’, ‘आजको प्रश्न’, ‘मान्छे भ्यागुत्तो बनेर कति कुटिने ?’ जस्ता रचनाहरु पछिल्लो कालका तथा हालसालैका रचनाहरु हुन् । अन्य रचनाहरु बीच–बीचमा लेखिएका हुन् । ‘म हराउँदै छु’, ‘उहाँ’, ‘श्रीमान्’ लगायतका रचनाहरु यस अघि प्रकाशित नभएका पहिलोपल्ट प्रकाििशत रचनाहरु हुन ।
प्रकाशित रचनाहरु एक प्रकृतिका नहोलान् । यसो हुनुको कारण कुनै प्रकाशनमा रचना आबश्यक पर्दा आयोजकहरुले भनेको बिषयमा बाँधिनु पर्दा पनि यस्तो हुन सक्छ । वास्तवमा मोफसलका लेखकहरुको अवस्था यस्तो रहेकोछ – कसैले कुनै प्रकाशनको तयारी गरेपछि केही सूचीमा परेका लेखकहरुसँग बिषय तोकेर लेख मागिन्छ । लेखकले आयोजकहरुको अनुरोध अनुसार लेखिदिनुपर्छ । यस लेखकको त यो पनि अनुभब छ, त्यसरी छापिएको आफ्नो लेख आफैं किनेर पढनुपर्छ । जेहोस्, यसमा एउटा सकारात्मक कुरा पनि छ, त्यो हो – लेखनमा अभ्यास र निरन्तरता आउन सक्छ । कतिपय रचना यसरी पनि तयार भएका छन् ।
यो पुस्तक यस रुपमा आउन सकेको कारण मध्येमा मैले चूडामणि रेग्मीज्यूलाई पनि ठानेको छु । उहाँ मलाई कलेजमा पढाउने गुरु त हुनुहुन्छ नैं, कुरा त्यतिमा मात्र सीमित छैन । मेरो साहित्य यात्राको पनि गुरु, पथप्रदर्शक, मेरो लेखनको खै खबर लिइरहने, गुरु भएर पनि मिल्ने साथी जस्तो रहने, भेटघाटमा साहित्यिक छलफल चलाइरहने, यस्तो अनेक हुनुहुन्छ । उहाँले पहिल्यैदेखि मलाई गद्य लेखनका लागि भन्दै आउनु भएकोछ । यस्तै प्रत्यक्ष र परोक्ष रुपमा मलाई अनेक मित्रहरुले यो पुस्तक निकाल्न उत्साह प्रदान गरेकाछन्, यहाँ सबैको नाम लिन संभव छैन ।
होम सुबेदीज्यूले आफ्नो व्यस्त समय मलाई प्रदान गरेर यो पुस्तकको शुद्धाशुद्धी हेरीदिनु भएकोछ, भूमिका लेखिदिनुभएको छ । उहाँले मलाई तिर्नै नसक्ने ऋण लगाउनु भएकोछ ।
अन्तमा यो पुस्तक यस रुपमा ल्याउन परोक्ष र प्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबै महमानुभावप्रति म कृतज्ञता व्यक्त गर्दछु र यसलाई यस्तै रुपमा पाठकका हातमा सुम्पेको छु ।
२०६३ फाल्गुण १ लीला उदासी
बिर्तामोड,झापा