उहाँको नाम भन्ने हिम्मत मसँग छैन । किनभने म कायर हुँ । कारहरूले भोग्नु पर्ने जुनसुकै सजाय भोग्न म तयार छु । उहाँको नाम, गाम र ठाम भने म बताउन पटक्कै सक्दिनँ । त्यसो त यो उहाँको विशेषता पनि हो । म जत्तिका मान्छेहरू उहाँको प्रशस्ति र स्वस्ति खुलेर लेख्‍न सक्छौं । घन्टौं भाषण गर्न सक्छौं तर उहाँका बारेमा विरोधको चुँ लेख्‍न कलमको बिर्को खोल्न सक्दैनौ । यसो गर्ने तागत उहाँसँग छ र नै आज उहाँ उहाँ हुनुभएको छ । उहाँले जे गर्नुहुन्छ– त्यसको प्रशंसा
हुनुपर्छ । उहाँले जे भन्नुहुन्छ- त्यसको अनुसरण हुनुपर्छ । अनि त उहाँ पुग्नुहुन्छ, नमस्ते र कुर्नेसहरूले पुरिनुहुन्छ । उहाँको कद जस्तै विचार र व्यवहार पनि होचो भएर के गर्नू ? नमस्ते र कुर्नेसहरूले उहाँ असलियतहरू छल्न सफल हुनुभएको छ । अनि त म सम्झन्छु– धन्य उहाँ ।

उहाँको व्यक्तित्वको राष्ट्रभरि चमक छ । उहाँलाई पचहत्तरै जिल्लामा चिन्दछन् । उहाँ राजधानीमा बस्दा पनि पटक-पटक ठूलै भएको मान्छे…… । उहाँ मात्रै धरहरा र सधैँ हराभरा । उहाँले जे छोयो त्यो क्षण भरमा उम्रन्छ र फल्छ । उहाँले मुठीमा समातेको बालुवा पनि फल्छ र त्यहाँबाट सुन झर्छ । आरिस गर्नेले त जुलुस पनि निकाल्छन् र मुर्दावाद पनि भन्छन् तर उहाँका ओठभरि मुस्कान छरिन्छ । उहाँ उहाँ नै हो । उहाँलाई न त जुलुसले गलाउँछ न मुर्दावादले  झुकाउँछ ।

उहाँ बलेको बत्ति झ्याप्पै निभाउने गरी र निभेको बत्ती धपक्कै बाल्ने गरी भाषण गर्न सक्नुहुन्छ । अनि त मान्छेहरू भन्छन्– उहाँको डुँडुलो पनि चल्छ, थुतुनो पनि चल्छ । कहाँ थुतुनो मात्रै हो र त्योबाहेक अन्य जे चल्दा बूढा-पाकाहरू अनिष्ट हुन्छ भन्छन् । उहाँको त्यो पनि चल्छ तर कहिल्यै अनिष्ट भने भएको छैन बरु शिष्टै शिष्टको खत लागेको छ । केही गरे पनि उहाँलाई बात पनि लागेको छैन, लात पनि लागेको
छैन । उहाँ आफैँ भन्नुहुन्छ– ‘यस्ता कुराले मलाई कहिल्यै मात लागेको छैन ।‘ जात त उहाँ मान्दै मान्नुहुन्न । उहाँको भाग्न नै बलियो- घात प्रतिघात अरूलाई – सुनौंला सुनौला रात उहाँलाई …..।

अनि डुडुलोको कुरा बाँकी नै छ । उहाँ जे पनि लेख्‍नु जान्नुहुन्छ। स्कूल छँदा प्रेम-पत्र लेखि हिँड्ने उहाँको पेसा नै थियो । पहिला जो सुकैलाई आफैँ लेख्तै हिँड्नुहुन्थ्यो । दुई चारपटक प्रेम-पत्र लेखकलाई थापेको एम्बुसमा परेपछि त्यो काम अलिक घटेको थियो तर के गर्नु र ? इलम जानेपछि पनि मान्छेले दु:ख पाउँदो रहेछ – एकान्त पारेर अलिक ठुलै दादा र दिदैहरू प्रेम-पत्र लेख्‍न बिर्सनुहुन्छ कि ? भनेर ताजगी तालिम दिन्थे उहाँलाई । उहाँ पनि त्यसमा खुब हौसिने– त्यो व्यापार पनि उहाँको खूप चल्यो । काइदाको फाइदा हुन थाल्यो । कतिका दादाहरूलाई एम्बुसमा चिप्ल्याएर दिदैहरूसँग आफैँ पो पत्राचार गर्नुहुन्थ्यो । त्यही बेला त हो, उहाँले प्रणय विरहका गीत लेख्‍न थालेको । त्यसपछि कविता । अनि कथा। उपन्यास पनि लेखेको हल्ला छ– देखिएको चाहिँ छैन । यसरी हात र मुख दुवैले साथ दिएर त उहाँ कहिले राजनेता, कहिले पत्रकार, फेरि समाज-सेवा, फेरि पत्रकार….. । ‘म रातभरि एक थोक– दिउँसो अर्कै हुन सक्छु । ’- उहाँ आफैँ भन्नुहुन्छ । जेहोस्, रात बेरात- उहाँका हातले उहाँलाई खुबै साथ दिएको  छ । उहाँ लेखक, कवि पनि, नेता पनि । गायक पनि, नायक पनि ।

उहाँ कसरी वामपन्थी राजनीतितर्फ तानिनु भएछ त ? उहाँलाई नबुझ्नेहरू बेला बेलामा यस्तो जिज्ञासा आफूभित्र पैदा गर्छन् । उहाँको सम्पन्नता र वामपन्थी राजनीतिमा लागेपछि झन् फक्रेको त्यो सम्पन्नताका बारेमा केही मान्छेहरू त उहाँलाई नै प्रश्न पनि गर्छन् । तिनलाई उहाँ पलभर हेर्नुहुन्छ र उहाँका आँखाहरूले भनिरहेका हुन्छन्– विचरा तिमीहरू ! तर शब्द त यसरी आउँदैनन् । उहाँ भन्नुहुन्छ- ‘आमाको गर्भमै छँदा म वामपन्थी रहेछु र त्यसरी नै जन्मे, अब सम्पन्नताका बारेमा सुन्नुहोस्– हाम्रो पैतृक सम्पत्ति गाउँभरि थियो– अरूले पनि लिएर हामीलाई घोर अन्याय गरेका छन् । अब म राजनीतिमा लागेपछि बढेको जे देखिन्छ त्यो त व्याज हो । पदमा छँदाको आर्जन त देखाउनै भएन
नि ! अब सम्पन्नता र वामपन्थी एकैसाथ कसरी ?- यो प्रश्न मसँग नगर्नू। रहर भएर कार्ल मार्क्ससँग गर्नू, लेनिनसँग गर्नू, होइन भने अहिलेका ज्योति बसुसँग गर्नू, त्यसो पनि भएन भने काठमाडौंमा गएर केशव स्थापितसँग सोध्नू ।’ यसरी त्यस्तो प्रश्न गर्नेलाई पश्चाताप गरिदिने सीप उहाँसँग प्रचुर छ ।

उहाँलाई अलिक धेरै बुझ्नेहरूले त भन्छन्– उहाँ हाइ स्कूलतिर पढ्दै गर्दा पारिवारिक सभाले उहाँलाई वामपन्थतर्फ अग्रसर हुनुपर्ने निर्णय गरेको हो । किनभने उहाँको परिवारमा पञ्चको खेती थियो– काँग्रेसको गोरु थियो- त्यस बेलासम्ममा उहाँको परिवारमा वामपन्थीको बिरुवा नै थिएन । वामपन्थको खेती गामभरी हराभरा हुनु उहाँका घरमा बीउ नहुनुको पारिवारिक पीडाले उहाँ त्यता जाने पारिवारिक सभाले फैसला गर्‍यो र त्यसको कार्यान्वयनको क्रममा उहाँ वामपन्थी हुनुभएको हो । उहाँको वामपन्थ यात्रा उहाँलाई निकै सुगम महसुस भयो । ‘जिम्दारका छोरा कामरेड’ भन्दै उहाँसँग हात मिलाउन पाउँदा गामका हली, गोठाला, खेताला, अधियार सबै खोजेको मुक्ति पाएको महसुस गर्थे । त्यतिमात्र हैन, उहाँकै अधियारसँग परिवारको वार-वार झडप पर्थ्यो । उहाँ वामपन्थी भएपछि त त्यस्तो झडप अलिक सजिलै टर्न थाल्यो । धेरै त उहाँले भनेपछि – जे पनि मान्थे । कोही-कोही मान्दैनथे । जो मान्दैनथे– तिनलाई उहाँ सी.आई.डी. भन्नुहुन्थ्यो र पक्राउनुहुन्थ्यो । थुनाउनुहुन्थ्यो ।

एकताका धान बालीका बारेमा निकै विवाद चर्कदै  थियो । उहाँ त राजधानीमा विद्यार्थी आन्दोलनमा व्यस्त हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको उहाँ गायक पनि नायक पनि । तैपनि उहाँलाई घरबाट तु. बोलावट भयो । आन्दोलनबाट पलायन भएर जिम्दार पिताजीको आदेश तामेल गर्न घर दाखेला हुनुभयो । उहाँ जस्ता नायकले सबै कुरा बुझेपछि घरकालाई फैसला सुनाउनुभयो– ‘भरे राति सबै कामरेड मेरा कब्जामा हुन्छन् । राति बाह्र बजेभित्रमा सबै धान काटेर भित्र्याउनु ।’ अर्कै गामबाट अलिक धेरै जनशक्तिको जोहो उहाँका घरमा भयो । साँझ परेपछि उहाँ भने गामको स्कूलमा दाखेला हुनुभयो । जहाँ पूर्व योजनाअनुसार गामका सबै कामरेड थिए । उहाँलाई आफू बीच सबै कामरेड दङ्ग । आजको प्रशिक्षण अलिक लामै हुने र सैद्धान्तिक हुने उहाँले बताउनुभयो । अनि थाल्नुभयो– मार्क्सवाद, लेनिनवादबारे व्याख्या गर्न । बाह्र बजेतिर प्रशिक्षण सकेर सबैलाई बिदा गरेपछि उहाँ घर पुग्नुभयो । खेतको सबै धान काटेर भित्रि सकेको रहेछ । उहाँ ढुक्क भएर सुत्‍नुभयो । भोलिपल्ट गाउँ तनावमा बदलियो । उहाँले सबैलाई बुझाउनुभयो र भन्नुभयो– ‘यो पक्कै प्रशासनको करामत हुनुपर्छ जसमा मेरै परिवारका कसैको पनि संलग्नता हुनसक्छ, तर म यसको भन्डाफोर गरेर छाड्छु ।’ यति भन्दै उहाँले आफ्नै नामबाट एउटा वक्तव्य तयार गर्नुभयो र त्यसलाई छापेर प्रचार-प्रसार गर्न कामरेडहरूलाई खटाउनुभयो । कामरेडहरू आदेश पालन गर्न हिँडे । उहाँलाई पनि काठमाडौंबाट बोलाहट आयो । ‘यसपल्ट नैतिक रूपमा हामीले जित्यौं कामरेडहरू ।’ भन्दै उहाँ कामरेडहरूसँग बिदा भएर बाटा लाग्नुभयो । वर्षभरि पसिना बगाएर खेती गरेका कामरेडहरूको चूलो बलेन, धान उहाँका ढिकुटीमा चुलियो ।

यस्ता प्रसङ्गहरू त बग्रेल्ती आए-गए तर सबै प्रसङ्ग यस्तै रहे । उहाँ नहुनेहरूको नेता । ती नहुनेहरूको सधैँ हुँदैन । वर्षभरिको श्रम, पसिना, रगत सबै सधैँ उहाँका ढिकुटीमा पस्छ र उनीहरूको चुलो निष्कृय भए पनि मङ्सिरमा ढुकुटी चुलिन्छ र धपक्क बल्छ । अहिले त उहाँको ढिकुटीको प्रतीक भएको छ उहाँको व्यक्तित्व । ती नहुनेहरूको आड, बल र रहरमा हराभरा भएको छ । यस्तै हराभराका माझबाट उहाँ धरहरा बन्नुभएको छ । सबैले भन्छन्– धन्य उहाँ, जय उहाँ ।