- Home
- त्यो बालक कहिले जन्मन्छ ?
- बाबुरामहरु
बाबुरामहरु
एकपटक अल इण्डिया रेडियोले एउटा समाचार प्रसारण गर्यो र भन्यो– ‘आसाममा प्रहरीले एकजना मानिसलाई पक्राउ गरेको छ र उसलाई चारु मजुमदार भनेर शङ्का गरिएको छ ।’ यो समाचार प्रसारण भएको केही समयपश्चात् कलकत्तामा प्रहरीले चारु मजुमदारलाई पक्राउ गर्यो र हत्या गर्यो । त्यसपूर्व चारु मजुमदारका धेरै प्रसङ्ग र कहावतहरू प्रेसमा आइरहे । चारु अहिले नेपालमा छन्, चारु अहिले काठमाडौंमा छन् देखि लिएर चारु अहिले झापामा छन्– भन्नेसम्मका समाचारहरू सनसनी बनेर अखबारमा छरिन्थे । चारु जुन उद्देश्यका लागि हिँडेका थिए– काठमाडौं हुनु, झापामा हुनु पनि त्यति ठूलो कुरा थिएन तर चारु र चारुका समाचारहरू आ–आफ्नै उद्देश्यमा हिँडिरहे ।
यस्तो चर्चा त मोहनचन्द्र अधिकारी र सी.पी. मैनालीका बारेमा पनि निकै चल्दथ्यो । पक्राउ पर्नुअगाडि र जेल विद्रोहपछि सी.पी. मैनालीका नाउमा धेरै समाचार लेखिए । नलेखिएका धेरै चर्चाहरू सी.पी.का समर्थकहरूले गरे, विरोधीहरूले गरे । साँच्चै एकपटक सी.पी. मैनाली चर्चामा, समाचारमा सनसनी बने । क्रान्तिकारी नेताहरू चर्चा र सनसनीको शिखरमा रहनु सामान्य हो । यस्तै चर्चा र सनसनीको शिखरमा बस्ने पालो यति बेला बाबुराम र बाबुरामहरुको परेको छ ।
बाबुराम झापामा छन्– बाबुरामहरु झापामा पसेका छन्– बसेका छन् भन्ने समाचार छाप्न यस बेला धेरै छापाहरूलाई जाँगर चलेको छ । समाचार प्रतिनिधिहरू बाबुरामहरुको समाचार लेख्न कलममा मसी भरिरहेछन् । मकसद भने बाबुरामहरुको आफ्नै छ र छापाहरूको आफ्नै छ।
बाबुरामहरु घर बस्दैनन् । जागिर खाँदैनन् । व्यापार गर्दैनन् । खेती किसानी गर्दैनन् । उनीहरू जे गर्छन् -त्यसका लागि दार्चुलामा हुनु र झापामा हुनु नौलो कुरा होइन । उनीहरू जे गर्दैनन्– त्यो गर्छन् पनि । जागिर कानेहरू, घर बस्नेहरु, व्यापार गर्नेहरु, खेती किसानी गर्नेहरु, मजदुरी गर्नेहरु पनि बाबुरामहरु छन् । त्यसैले बाबुरामहरु झापाका गाउँमा रहनु, झापाका बजारहरूमा पस्नु, बस्नु अचम्मकै कुरा भने शायद होइन ।
मल र जल पायो भने माटो उर्वर हुन्छ । झापाको माटोमा अलि धेरै कम्युनिस्ट मल र जल परेको छ । सात साल लगत्तैका खमार बन्द आन्दोलनहरू र किसान विद्रोहको मल अहिले पनि बाँकी छ । वामपन्थी आन्दोलनको अग्र धारमा कहिले स्व. धर्मप्रसाद ढकाल आए, कहिले स्व. वसन्तकुमार खड्का र सीताराम भट्टराईहरु आए, कहिले रामबावु प्रसाई र गणेशबहादुर प्रसाईहरु आए तर उनीहरू बसाइँ सरेर गए पनि खनजोत लान सकेनन् । बसाइँ नसरी जीवन गुजारेका द्रोणाचार्य, पुहातु राजवंशी, मदन खपाङ्गी, वलबहादुर थापाहरुको पसिना त झापामा अझै सेलाएको छैन । गोपालकृष्ण प्रसाई, टीकाप्रसाद सापकोटा, के.वी.कार्की, भ्रमणसिंह राजवंशी, नन्दकुमार प्रसाईका यौवनदेखि हालको वृद्धावस्थाको पाइतालाले वामपन्थी आन्दोलन उर्वरै बन्दैछ ।
रामनाथ, नेत्र, कृष्ण, नारायण, रामप्रसाद, चन्द्र डाँगी, लक्ष्मी पाण्डे, राम थापाहरुको रगत त मुलुकभरी भयो । झापामा आँटेन । हर थोपा रगतले साह्रै धेरै कम्युनिस्ट जन्मायो । लामे अवधि जेल बस्नेहरु, भूमिगत जीवनको दुःख झेल्नेहरु, वलीदानीहरु सबैको लामो लगत झापामा छ ।
‘झापा’ काण्ड स्वयम्ले मुलुकको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण आकार लिएको छ । यसले धेरै नोक्सानीको हिसाब बोकेको भए पनि नेट प्रोफिटमा साह्रै धेरै व्यालेन्स रहेको खाता पनि बोकेको छ । हो, झापामा अनगिन्ती मान्छेहरू कम्युनिस्ट बने, समर्थक बने, शुभेच्छुक बने र अहिले छन् । झापा काण्ड सकिएको थियो– यसका नेताहरूले नीतिमा परिवर्तन गरिसकेका थिए तर मान्छेहरू कम्युनिस्ट बन्दै रहे । बलिदानलाई, त्यागलाई, निस्वार्थपनलाई हेरेर, सुनेर मान्छेहरू आकर्षित बनिरहे । आउँदै रहे । आइरहे । २०४८ सालको आम चुनावको परिणाम भनेको यस्तै मल जलको बाली हो ।
उता कुकुरको मासु बेच्ने, गफाडीहरुको थलो भनेर संसदीय अभ्यासको धज्जी काढ्ने बाबुरामहरुले जनयुद्धको शंखनाद गर्दाका क्षणमा त्यो शंखनादले झापालाई छोएको थिएन । यहाँ नन्दकुमार प्रसाई, डा. हृषीकेश उपाध्याय, टीकाप्रसाद सापकोटा, गोपालकृष्ण प्रसाई, धर्मचन्द्र लावती, पूर्ण राईहरु छुट्टाछुट्टै कम्युनिष्ट झुण्डको नेतृत्व गर्ने रहरमा जुटिरहे पनि झापा एमालेकै किल्ला रह्यो ।
यता आएर एउटा प्रश्नमा खासखुस शुरु भएको छ । सुविधा उपभोगको प्रसङ्ग, इमान्दारिताको प्रसङ्गले मुलुक सनसनी पूर्ण बनेको
छ । यही मौकामा झापाली एमालेहरु दुई किनारमा उभिएर जि.वि.स. सभापतिको चुनाव लडे । यो चुनावपछि केही इमान्दारहरु थाके । केही पाके । चुनावताकाका केही दृष्यहरुले उनलाई एउटै पार्टीका कार्यकर्ता हुन् भन्न मिल्दैनथ्यो । एकले अर्कालाई भेटे भकुर्नेसम्मका काम भए ।
यस लहरमा अगाडि देखिएकाहरुको आफ्नै कुरा छ, तर तिनलाई छट्टू भन्ने– इमान्दारिताको गोरेटो खोजिरहेका एमालेकै कार्यकर्ताहरू बाबुरामहरुका कुरा सुन्न उत्सुक भए भने बाबुराम झापामा आउनु– बाबुरामहरु झापा पस्नु, बस्नु अचम्मकै कुरा मानिन्छ र ?