मान्छे भ्यागुता बनेर कति कुटिने ?

बन्द बढेको छ । बन्द गर्नेहरू बढेका छन् । बन्द गर्नेहरू परिणाममा पनि बढेका छन् र परिमाणमा पनि बढेका छन् । बन्द जत्ति बेला पनि हुन थालेको छ । बन्द जे सुकै कारणबाट पनि हुन थालेको छ । बन्द जो सुकैले पनि गर्न थालेको छ । त्यसैले जताततै बन्द छ । बन्दै बन्द छ ।

घटना भयो बन्द । दुर्घटना भयो बन्द । केही नभए पनि बन्द । केही भएर पनि बन्द । जे सुकै गराउन पनि बन्द । केही नगराउन पनि बन्द । साना कुरामा पनि बन्द । ठूला कुरामा पनि बन्द । यस्तो लाग्छ– अब अलिक दिन बन्द भएन भने मान्छेलाई बन्दको न्यास्रो लाग्न सक्छ ।

किन हुन्छ ? –यसरी बन्द । बन्दको कारण के हो ? बन्दको कारक के हो ? बन्दले कसलाई पीडा दिएको छ ? बन्दले कसको हुर्मत लिएको छ ? बन्द गर्नेहरू किन यसरी हौसिएका छन् ? परिणाम के निस्कने हो ? यस्ता प्रश्नहरूमा बन्दकर्ताहरू पनि घोरिएका छैनन् । सत्ता सञ्चालन गर्नेहरू पनि गम्भीर भएका छैनन् । सर्वसाधारणलाई भने बन्दले तारो हानिरहेछ । बन्दले सर्वसाधारणको छाला काडिरहेछ ।

लाग्छ– बन्दको पहिलो चरण बन्दको बीउ रोपिँदै गरेको हो । जुलुस, नारा, हडतालबाट बन्द फल्दै जान्छ । तोडफोड, आगजनीबाट बन्दको फल छिप्पिँदै जान्छ । जब बन्दुक पड्कन्छन्, मान्छे घाइते हुन्छन् र मर्छन्, अनि मात्र फल छिप्पिन्छ र सरकारले सुन्छ । सरकार त अन्धो हुन्छ । उसले देख्दै देख्दैन । कान पनि मधुरो सुन्छ । जबसम्म मान्छे मर्दैनन्– उसले बन्दको कुरै थाहा पाउँदैन । बन्द भनेको हिंसाको खेती हो। यस्तो खेती सरकार आफैँले चलाउँछ । यस्तो खेती गर्न सरकारलाई रुचि लाग्छ । अनि त बन्द भएर मान्छे नमरेसम्म सरकार बन्दलाई वास्तै गर्दैन ।

म पटक-पटक बन्दले घेरिएको छु । बन्दको प्रतिकूलताले डामिएको छु । मान्छे मरेका ठाउँमा पुग्न सकेको छुइनँ । मलामी जान सकेको छुइन । अनगिन्ती विवाह उत्सवहरू छुटेका छन् । ‍आफन्तहरू रिसाएका छन् । आपत् परेका आ‍फन्तलाई भेट्न नसकेर विपतमा परेको छु । दैनिक कार्यक्रममा सामेल हुन सकेको छुइनँ । दैनिक कार्यबाट घर फर्कन सकेको छुइन । दाल, चामल, चिया, चिनी, तरकारी किन्न नसकेर भोकै बसेको छु । जहान परिवारलाई, बाल-बच्चालाई भोक-भोकै राखेको छु । बिरामी हुँदा अस्पताल पुग्न सकेको छुइनँ । बन्दमा अस्पताल पुग्न नसकेर, औषधी नपाएर, चिकित्सकको अनुहार हेर्न नपाएर इहलीला त्याग्ने मान्छेहरूसँगै कति पल्ट म बितेको छु । साल-नाल सहितकी सुत्केरीले औषधी र चिकित्सक हेर्न नपाएको दृश्यमा थुप्रै पटक म रित्तिएको छु । श्रमिक भएर मैले बनी गर्न पाएको छैन । रोजगारी गर्न पाएको छैन वर परिणाममा मैले छाक टार्न पाएको छैन । बाट्-बाटै म अलपत्र छु ।

म त फगत प्रतीक हुँ । म आम मान्छे हुँ । मैले पीडा यस कारणबाट मात्र  खपेको हुँ– आम मान्छेले बन्दको पीडा खप्न मलाई साथ दिएका छन् । अर्थात्, यसो भनौं – मैले त बन्दको पीडा खप्न आम मान्छेलाई साथ मात्र दिएको छु । यसरी आ‍म मान्छेले बन्दबाट पीडा पाएको छ । बन्दले मान्छेलाई हातपात गरेको छ । घात थपेको छ । बन्दले मान्छेलाई प्रहारै प्रहार गरेको छ ।

भनिन्छ– बन्द शक्तिवालाका विरुद्धमा गरिएको हो, बन्द सत्ताका विरुद्धमा गरिएको हो । भनिन्छ– बन्द ठूला-ठूला कानमा कुरा सुनाउन गरिएको हो, बन्द वडाहरूका मस्तिष्कमा कुरा बुझाउन गरिएको हो । भनिन्छ– बन्द सरकारलाई  झुकाउन गरिएको हो, बन्द सरकारलाई  ठेगान लगाउन गरिएको हो । माग पुरा गराउन गरिएको हो । यसो पनि भनिन्छ– बन्द सरकारलाई बाटो देखाउन गरिएको हो । बन्द सरकारलाई ठीक बाटोमा हिँडाउन पनि गरिएको हो । बन्द सरकारलाई विद्रोह देखाउन, चिनाउन पनि गरिएको हो । भनिन्छ– बन्द सरकारलाई तह लाउन गरिएको हो ।

कुरा त हो, तर पनि यति बेला ‍आम मान्छेले एउटा उखान सम्झेका छन् । आ‍फूलाई भ्यागुतो पाएका छन्  जसले मुसाले धान खाए बापतको चोट खपेको छ । धान खाएर टाप कसेको मुसो छेउ-छाउमा भेटिँदैन र धान धनीले छेउको भ्यागुतो कुटेर मर्माहत बनाएको छ । आम मान्छे चोटै-चोट परेको भ्यागुतो भएको छ । सरकार नामका मुसाले भ्यागुतो चुटिरहेछन्, चुटिरहेछन् । मुसो ‍आफूले खाएको धान बापतमा भ्यागुताले कुटाई खाएको हेरिरहेछ, हेरिरहेछ । लाग्छ– उसले यस्तो रमिता हेर्दा आनन्द प्राप्त गर्छ । यस्तो पनि लाग्छ– ‘धान खाने मुसो चोट पाउने भ्यागुतो ।’– भन्ने आहान चरितार्थ बनाउन सरकार कम्मर र हिम्मत दुवै कसेर लागेको छ ।

यसरी भ्यागुतो कुटिँदै आएको छ । कुट्नेलाई पनि थाहा छ, कुट्ने कारण निर्मातालाई पनि थाहा छ । बरु, कुटाई खाने भ्यागुतैलाई पो राम्रो थाहा छैन । किन कुटाइ खाइरहेछ ? भ्यागुतालाई राम्रो थाहा छैन, तर उ कुटिँदै छ, कुटिइरहेछ । विचरा, भ्यागुतो क्षत विक्षत भएको छ । उसका आन्द्रा-भूँडी निस्केर बिजोग भएको छ । सिलसिला रोकिएको छैन । धान चोरिँदै छ । चोरिइरहेछ । भ्यागुतोले कुटाइ खाइरहेछ । निर्दोष भ्यागुतालाई कहिलेसम्म यसरी कुट्छन् ? के भ्यागुतो कुट्नेले धान मुसाले खान्छ भनेर कहिले बुझ्दैनन् ? कुट्ने र मुसो भएर भ्यागुतोलाई कहिलेसम्म यसरी कुटिरहन्छन् ।

शक्तिमा रहेकाहरूलाई आनन्द लाग्छ । ‍आनन्द नलाग्ने भए कोही शक्तिमा रहने थिएन, सत्ता भिर्ने थिएन । सत्ताबाट ओर्लनु पर्यो वा शक्तिबाट विमुख हुनु पर्यो भने मात्र उनलाई दुःख लाग्छ । मुसाबाट भ्यागुतामा परिणत हुन कसैलाई मन पर्दो रहेनछ । हो, मुसो हूदा धान चोरीरहन पाइने, भ्यागुतो हुँदा मुसाले चोरेको धान बापतको कुटाइ खाइरहनु पर्ने । मुसो, भ्यागुतो र भ्यागुतो कुट्नेहरूको दिनचर्या यस्तै रहेछ ।

सत्तामा रहेकाहरू, शासन-प्रशासन गरेर पनि धान चोर्छन्, दमन गरेर पनि धान चोर्छन्, केही गरेर पनि धान चोर्छन् । केही नगरेर पनि धान चोर्छन् । भ्यागुतो कुटाएर पनि धान चोर्छन् । रमित हेरेर पनि धान चोर्छन् । आ‍ँखा चिम्लेर पनि धान चोर्छन् । भ्यागुतो कुट्नेहरूलाई कसले अर्ती दिने ? – ‘धान मुसाले चोर्छ भनेर ।’

अहिले बन्द छ । सुनसान छ । आवत-जावत छैन । मान्छेहरू घरभित्र कैद जस्तै छन् । कतै कर्फ्यु लागेको छ । कतै डर जागेको छ । निरस-निरस छ– वातावरण । मन भारी छ । मस्तिष्क शून्य छ । सम्पूर्ण सिर्जनात्मक सोचहरू निर्वासित छन् । अहिले ठप्प छ । बन्द छ ।

सरकार छ । उसको दृश्य शक्ति र श्रवण शक्ति कमजोर छ । उसको फगत घ्राण शक्ति मात्र सबल छ । उ भ्यागुतोले कुटाइ खाएको देख्दैन । उ भ्यागुतो कराएको सुन्दैन । भ्यागुताले इहलीला समाप्त गरे पछि लासबाट जब दुर्गन्ध सुरु हुन्छ, अनि मात्र उसको घ्राणले काम गर्न सक्छ र उसलाई अवस्थाको ज्ञान हुन्छ ।

सरकारलाई कुटाइ खाएर क्षत विक्षत भएका भ्यागुताहरूको चेतावनी छ– ‘धान नचोर्नू ! निर्दोष भ्यागुताहरूलाई नकुटाउनू ! हिंसाको खेती नगर्नू !’

भ्यागुता कुट्नेहरूलाई पनि आम भ्यागुताहरूको चेतावनी छ– ‘मुसाले धान खाएकोमा भ्यागुता नकुट्नू !  सके मुसा कुट्नू ! मुसा तह लाउनू ! निर्दोष भ्यागुता कुटेर आनन्द नलिनू !’

सरकारका कारणबाट आम मान्छेले खान, लाउन, घुम्न, फिर्न– कहिलेसम्म बन्द गर्नुपर्ने हो ? सरकार र बन्द आह्वानकर्ताहरूले यस प्रश्नको जबाफ दिनु पर्छ कि पर्दैन ? समयसँगै यो प्रश्न नछिप्पिओस् ।