विज्ञापन

एउटा अचार बनाउने कम्पनीको विज्ञापनले मलाई निक्कै आकर्षण गर्‍यो । त्यसमा लेखिएको थियो–”संसारमा अचार बनाउन दुई जना मान्छे सिपालु छन्,पहिलो तपाई र दोस्रो म” जिन्दगीभरि अचार बनाउन अवसर नपाएकाहरु पनि त्यो विज्ञापनमा भर परेर अचार बनाउन संसारको सिपालु आफूलाई ठान्दै ढुक्क हुँदै दोस्रोले बनाएको अचार किनेर खाए । यसमा त्यो अचार बनाउने कम्पनीको ‘विज्ञापन प्रबन्धक’को चातुर्यलाई मैले मनमनै सराहना गरेको थिएँ ।

अगाडिको अवसर छोप्न हुती नभएको स्वाँठ म यस कुरामा पनि पछाडि नै परेछु । तरै पनि पछि परेकोमा चिन्ता पटक्क छैन । बरु, अवसर छोप्न हतारिएको भए त्यो अवसर निर्वाह गर्न नसकेर चौपट्ट पार्ने रहेछु भन्ने लागेपछि आजकाल त्यो अवसरमा नहुर्किएकोमा एक प्रकारको सन्तोष लागेको छ । म सम्झन्थें– अचार कम्पनीको विज्ञापन पढ्ने थोरै नेपालीमध्धे म एक हुँ, तर मेरो ठनाइले उहिल्यै सिल्टिमुर खाइसकेको कुरा तव मात्र मैले थाहा पाएँ, जब अचार कम्पनीको विज्ञापनको नक्कल हाम्रा समाजका अधिसंख्यक मानिसले गरेको हेर्न पाएँ ।

पहिला–पहिला त विज्ञापनको नक्कल हाम्रो समाजका केही मानिसले गर्दा मैले थाहा पाएको थिइनँ, तर व्यापक रूपमा हाम्रो समाजमा अचार कम्पनीको विज्ञापनको नक्कल हुन लागेपछि मेरो लाटो दिमागमा अलिकति होस आयो र यसो गमेको त जोसुकै पनि मसँग अचार कम्पनीको विज्ञापन गर्दा रहेछन् । तर नक्कलबाजहरु सफल भएनन्, किन भने न म पहिलो सिपालु भएँ, न दोस्रो ।

निक्कै ठूलो ओहदामा भएका एक जना मानिसले मलाई भने– “तपाई अत्यन्त ठीक गर्दै हुनुहुन्छ, कति राम्रो विचार राख्नुभएको रहेछ, राजनीतिमा लाग्नु भा छैन–आफ्नो व्यवसाय गर्दै हुनुहुन्छ, खूब राम्रो गर्नु भयो”– यसरी राम्रो विचार गर्ने पहिलो मान्छे मलाई पारेर उनले तीन घण्टासम्म दोस्रो मान्छे आफू भएको भाषण गरे । “समाज भ्रष्ट र अनैतिक भयो, इमानदारी कसैमा रहेन, प्रपञ्च, कपट, बेइमानीमा हरेक पारख भए”– उनको भाषणको पूर्वार्द्धमा यसै प्रसङ्गलाई व्याख्या गरियो । उनले भनेका कुराहरू झलझलती उनका अनुहारमा टल्कन थाले । मैले केही सम्झ्न सकिनँ, मेरो सोचाइको तार जोडिएको स्विच के भएर बन्द भएछ, भरे–भरे स्विच खुलाएर भाषण गरिरहेका नेताका अगाडि मूर्तिवत् बसेर बालक कालमा उपध्रो गरेका कुरा सम्झेँ । यस्तैमा नेताले भाषण सकेर जाऊँ है भनेर उठ्दा पो झसङ्ग भएँ र हत्तपत्त उठेर नमस्ते गर्दा–गर्दा दुब्लाएर मरन्च्याँसे भएका हात जोडेर नेतालाई बिदा गरेँ ।

यसरी नै एक दिन दसौं लाख रुपैयाँको व्यापार गर्ने व्यापारी आएर मेरो प्रशंसा गरे, मेरो विचारको सराहना गरे । त्यसपछि उनले आफ्ना भाषण गुरु गरे– व्यापारमा हामीलाई यी–यी अड्‍चन छन् भनेर व्याख्या गर्न थाले । अन्त्यमा, उनको महान् विचार र सोचाइको सबैले अनुसरण गरेको खण्डमा सम्पूर्ण समाधान हुने बताए । उनको भाषणको सारांश थियो– “कसरी उनले लाखौँ रुपैयाँ नाफा गर्नु पर्नेमा अलिकति पूरा भएन र गत महिना जस्तो सहजै नाफा यस महिना कसरी भएन ?” यसै कुराले उनमा ठूलो छट्पटी थियो, पीडा थियो । नैराश्यले युक्त थिए ती व्यापारी महोदय र म जस्तै विचारका सबै भए, उनले त्यो पीडा छट्पटी र आपत्तिको सामना गर्नु पर्दैनथ्यो । उनी जस्तै सबैले कालो बजारी नगरे लाखौँ–लाखको नाफाबाट उनले वञ्चित हुनु पर्दैनथ्यो ।

यसै गरी पहिलोमा म र दोस्रोमा उनीहरू राम्रा भन्ने धेरै मान्छे मसँग आए र ती सबैले समाजका अरू सबैलाई बदमास भनेर गए । आज जसले अरूलाई बदमास भनेर गए, भोलि तीनै आएर बदमास भन्नेलाई बदमास भनेर गएको आएनन् र सबै आए । पत्रकार आए, शिक्षक आए, हाकिम आए, नेता आए, नेती (यो शब्द उपयुक्त नहोला नेतृत्व गर्ने महिलालाई नेती नभनेर नेताकी श्रीमतीले नेतृत्व गन हुँ भन्नेलाई नेती भनेको हुँ) आए, विद्यार्थी आए, समाजसेवी आए । सबैले मलाई पहिला नम्बरको राम्रो भने र उनीहरूले आफूलाई दोस्रा नम्बरको राम्रो भने ।

म त त्यसै–त्यसै रनभुल्लमा पर्छु, को कस्तो हो, को के हो ? को राम्रो ? को नराम्रो ? कतै खुट्‍याउन सक्दिनँ । संसारका हरेक भाषामा शब्दको सामर्थ्य बढेको छ । एउटा भाषाका शब्दहरू अर्को भाषामा आउँछन्, जान्छन्, यसैले आजको मान्छेले धेरै शब्द सिकेको छ, ती शब्द मिलाएर कुरा गर्न हरेकले जानेको छ । त्यसैले मानिसहरू आफूलाई असल र अर्कालाई कमसल प्रमाणित गर्न, निक्कै तर्क दिन सक्छन् र दिन्छन् ।

कठै ! त्यो अचार कम्पनीको विज्ञापन प्रबन्धकले पो धोका खाएछ ! उसले विज्ञापनको कला प्रचार गर्न त त्यो विज्ञापन गरेको थिएन – अचार बेच्न विज्ञापन गरेको थियो, तर उसको विज्ञापनको कारणले कति बिक्री बढ्‍यो, त्यसको हिसाब–किताब गर्न यहाँ मैले जमर्को गरेको पनि हैन तर त्यो विज्ञापनको हाम्रो समाजमा परेको प्रभाव हेर्ने हो भने त्यो विज्ञापन जस्तै कुरा गरेर कुरामा अचार मिसाउन हाम्रो समाजमा धेरै खप्पिस भए ।

यस साने लेखमा पनि कतै–कतै लेखकले दोस्रो नम्बरमा दरिन खोजेको आभास आउला, तर म छातीमा हात राखेर भन्छु– मलाई दोस्रो नम्बरप्रति मोह छैन । मलाई भाषण गर्नु पनि छैन, भाषण गर्न आउँदा पनि आउँदैन । यो अखबारमा गन्थन कथुर्नुको बदला भाषण गर्न जानेको भए उहिल्यै जीवनभरि पुग्ने रासन जुटाउथें कि ? कि त आफूभन्दा निम्सराहरुलाई भाषणबाटै कासन दिँदै हुन्थें । अचार कम्पनीलाई विज्ञापन फेर्न बाध्य पार्ने कारणीमध्धे म पनि एक हुन्थें । जेसुकै भए पनि पिलन्धरे, खिनौटे, हेर्दै टीठलाग्दो त अवश्य हुन्नथें, अलिक सबल विचारकै हुन्थें, हड्डी–खोपडी, नशा–मासु, रगतमा अलिकति चिन्तन–मननको सीप र कला लत्पतिएको मान्छे म हुने थिएँ । बरु, चिन्तन–मननको छायासम्म नपरेको भए पनि ‘चिन्तक, विचारक’ भन्ने सङ्केत–पाटी बाहिरैपट्टि लेखिएको मान्छे म हुन्थें जेहोस्, मैले अरूले भन्दा सुनेका कुराहरूलाई अनर्थ गरेर भन्दा पनि अर्थै गरेर सुन्ने श्रोताहरूको सम्मानित नेता म हुन्थें, दुई–चारवटा व्यभिचारलाई ठ्‍याम्मै ढाक्ने ओजस्वी व्यक्तित्व भएको मान्छे म हुन्थें, दुई–चारवटा गहकिला सार्वजनिक रकम सहजै पचाउन खप्पिस मान्छे म हुन्थें, साँच्चै भनौं भने विलासी जीवन बिताउन सक्षम अचार कम्पनीको दोस्रो मान्छे म हुन्थें । अचार कम्पनीले अचार बेच्न ‘तपाई पहिलो सिपालु’ भने झैँ अरूले आफ्ना भाषण र स्तोत्र सुनाउने क्रममा मलाई आज पहिलो सिपालु भनेर जनाएको भाषण सुन्न अगाडि बसेर अतीत सम्झने निरीह नागरिक त म हुन्नथें ।