सादा विवाहलाई सादा शुभकामना

फलोस् सर्वथा प्रेम मन फुल्ने बनै सरि ।

त्याग रूप अनि छाया, एकार्कामा सधैँ भरी ।।

       पाठकहरू ! माथिका हरफहरू साहित्यकार विजय खरेलका छोराको विवाहको निम्तोपत्रबाट निकालिएको हो । निम्तो पत्रको शिरमा छापिएको यो कविता यस कारण महत्त्वको छ– यो परम्परा विरुद्धमा प्रतीकात्मक रूपमा उभिएको छ । यसलाई यस लेखकले विद्रोह पनि ठानेको छ । निम्तो पत्रमा उल्लिखित यो कविता मौलिक छ, परम्परागत रूपमा चल्तीको श्लोकका स्थानमा यो श्लोकले मन छोएको छ ।

कविता मात्र होइन, निम्तो पत्रमा मन छुने अरू धेरै कुराहरू छन् । जन्ती जान नेपाली पोसाकमा आउन आह्वान गरिएको छ । यो कुराका पछि समाजका कति अग्रजहरू लाग्नु हुन्छ, त्यो त थाहा छैन तर विजय खरेलले छोराको विवाहमा यो आह्वान गरेर नेपाली मन र मुटुलाई एक पटक चिमोट्नु भएको छ ।

निम्तो पत्रको अर्को विशेषता यो रहेको छ– प्रीति भोज छैन, चियापानको कार्यक्रम रहेको छ । वर्तमानमा समाजमा चल्ने भव्य भोजहरूलाई यस निम्तोपत्रले झापड दिएको छ र असहायहरूलाई कर्जाको ठूलो भारी बोकेर विवाह भोज नगर्न प्रेरित गरेको छ । सादा तरिकाबाट पनि सामाजिक कार्यहरू हुन सक्छन् भन्ने सन्देश दिएर विजय खरेलले सादा जीवनको उच्च विचारले अनुकरण गर्नुभएको छ । आग्रह गर्नुभएको छ ।

निम्तोपत्र सादा छ । आवरणमा सादा, लेखाइमा सादा, खानपानमा सादा, लाउनमा सादा– साँच्चै विजय खरेलको सादापन यस लेखकलाई लोभलाग्दो लागेको छ । थाहा छैन साडी कति लैजानूहुन्छ बेहुलीलाई ? सुन कति लैजानूहुन्छ ? ती कुराहरू जे सुकै रहून्, विजय खरेलले सादापनको सुरुवात गर्नु भएको छ । यस अर्थमा पनि उहाँ प्रशंसाका पात्र हुनुहुन्छ । उहाँका सुपुत्र, उहाँकी पत्नीले उहाँलाई साथ दिनुभएको छ । त्यस अर्थमा उहाँहरू पनि यस लेखकको प्रशंसाका पात्र हुनुहुन्छ । उहाँका नातेदारहरू जसले यो सादापनलाई प्रत्यक्ष र परोक्ष साथ दिए, ती सबै यस लेखकका प्रशंसाका पात्र हुनुहुन्छ ।

यस निम्तोपत्र बारे यस लेखकका छोराहरूले यस लेखकलाई मत दिएका छन्, छोरी र पत्नीको पनि मत पाएको छ र यस लेखकका सहयोगीको पनि मत यस लेखकलाई प्राप्त भएको छ । यस अर्थमा विजय खरेलका पक्षमा जनमत पनि रहेको छ ।

व्यावसायिक व्यस्तताका कारण विवाहोत्सवमा भने म सामेल हुन नपाउने भएको छु । दुःख लागेको छ मलाई यस्तो लागेको थियो– नेपाली पोसाकमा ठाँटिएर विजय खरेलका छोरा गणेशका विवाहमा जन्ती जाऊँ र सादापनको प्रचारमा विजय खरेललाई सघाउँ, तर त्यो सौभाग्य प्राप्त नहुने भएको छ ।

यस लेखबाटै यो शुभकामना गणेश र लुनालाई– उहाँहरूको दाम्पत्य जीवन सुखमय होस् र सदा उच्च विचारका सादा मान्छेका प्रतीकका रूपमा तपाईहरूलाई  समाजले पाओस् ।