अहिलेको गाउँ

गाउँ भनेको 
अलिकति लेक
अलिकति बेसी
अलिकति खेत 
अलिकति बारी
गाउँ भनेको त 
सबैको छहारी
कोही वारी 
कोही पारी
गाउँ भनेको 
रहरै रहरको भकारी 
यस्तो पो थियो ।

बालबालिका धक फुकाएर खेल्थे
किशोर किशोरीहरू उन्मुक्त भएर नाच्थे
युवा युवतीको माया र प्रेमले
गाउँमा हरियाली भर्थ्यो 
भारो पर्म चल्थ्यो 
ढिकी, जाँतो र कोलले गाउँ चलाउँथ्यो 
कति उर्वर थियो गाउँ !
मान्छेको मन पनि लटरम्म फलाउथ्यो
गाउँ भित्र पनि गाउँ
गाउँ बाहिर पनि गाउँ
गाउँ साँच्चै गाउँ थियो
सम्पन्नता नभए पनि 
रन बन छाएको थियो ।

त्यति बेला 
गाउँ मन थियो 
गाउँ मुस्कान थियो 
अन्तरङ्ग थियो 
आत्मीयता थियो 
गाउँ अनेक थियो 
गाउँ सम्भ्रान्त थियो 
गाउँ जीवन थियो 
गाउँ सम्पूर्ण थियो ।

अहिले त गाउँहरू खाली छन्
गाउँमा न बाली छन् 
गाउँमा न माली छन्
लेक पनि छैन 
बेसी पनि छैन
अहिले गाउँहरू खाली - खाली छन् ।

स्वयम् वृद्ध बृद्धाहरूले आफ्नो स्याहार गर्ने 
बृद्धाश्रम जस्तै भएको छ गाउँ
अभिशप्त कठोर समयको 
आहाल बनेको छ गाउँ
अनेक पीडाले डामेको वर्तमान बोकेर
बचपन, यौवन र वयस्क क्षणका स्मृतिहरू
र
भोक र प्यास खाएर पिएर
जीवन धानि रहेछन् वृद्ध बृद्धाहरू ।

छोरो खाडीमा रोजगारीमा छ
बुहारी इजरायलमा छे
उ हिटलर कालमा मरेका पती र पत्नीको सेवालाई साटेर 
मीठो खाँदै छे
दुई पटक सम्बन्ध विच्छेद गरेकी छोरीले
अर्को पती पनि छाडेर
के खान्छे ? के गर्छे ? थाहा छैन
राम्री, चिटिक्क भएर खिचेको फोटो 
फेसबूकमा राखेकी छ , 
एउटा पत्र पठाएकी छ
उसले त्यसमा लेखेकी छ
पाँच वर्ष पछि आउँछु
र आमा बुबाको 
राम्रो व्यवस्था गरि दिन्छु
तर ती वृद्ध बृद्धाहरू
पाँच वर्ष पछि 
अर्को जुनी हुने विश्वासमा छन् ।

गाउँमा अहिले कोही बित्यो भने 
मलामी जाने मान्छे छैनन् 
विवाह त गर्नै पर्दैन
बेहुला र बेहुली नै हुँदैनन् 
अहिले गाउँ, गाउँ जस्तो छैन 
आउँले सताएर खर्ल्याप्प भएको मधौरु जस्तो छ
गाउँ चिहान घारीको 
शोक जस्तै भएको छ
मृत्यु पर्खेका 
अभिशप्त वृद्ध बृद्धालाई बोकेर 
गाउँ 
हुचीलसँग मिलेर 
शोक र भोकको गीत गाइरहेछ
हो, गाउँ
सिंहदरवारबाट धेरै टाढा छ
आफन्तबाट टाढा छ
आत्मीयता बाट टाढा छ 
मानवीय मन बाट टाढा छ 
अझै टाढा हुँदैछ 
सर्वत्रबाट गाउँ 
गाउँ परदेश लाग्दैछ
गाउँ दूर देश जाँदैछ
सर्वत्रबाट गाउँ
टाढा - टाढा हुँदै जाँदैछ 
अहिलेको गाउँ 
बेवारिस बन्दैछ ।