एकै क्षण
ढोका थुनेर बसौं
झ्याल थुनेर बसौं
पर्दा लगाएर बसौं 
कान थुनेर बसौं 
हाम्रो घर अगाडी 
जुलुस आइ रहेछ ।

वस्त्र हीनहरू 
जुलुसमा हिडिरहेछन्
लज्जा बोध नहुनेहरु 
जुलुसमा नारा लाइ रहेछन्
नङ्गाहरूको नारा 
अश्लील छ
उनीहरू
श्लीलको बलात्कार गरि रहेछन् 
मान्यताको 
चीरहरण गरि रहेछन् ।
उनीहरू 
नाङ्गै जुलुसमा हिडेकाछन् 
उनीहरू 
अश्लील नारामा रमेका छन् ।
उनीहरू 
अगुवा हुन्
कामकाजका अगुवा 
बन्दो बस्तीका अगुवा 
न्याय र इन्साफका अगुवा 
सर्वत्रका अगुवा ।

गन्तव्य 
उनीहरूको 
ठूला घरहरू तिर रहेको छ
कामकाजको ठूलो घर
बन्दोबस्तको ठूलो घर
इन्साफ गर्नेहरु बस्ने ठूलो घर 
उता पस्न लागेका छन् उनीहरू 
उनीहरू नङ्गा छन्
उनीहरू अश्लील नारा लाउदैछन् ।
त्यसैले
ती नङ्गाहरूको जुलुस 
ठूला घरतिर नपसे सम्म 
अहिलेका हकमा 
ढोका बन्द गरेर बसौं
झ्याल थुनेर बसौं
कान थुनेर बसौं 
नङ्गाहरूका नारा नसुनौ
श्लीलको बलात्कार नहेरौं
मान्यताको चीरहरण नहेरौं
बरु पसुन्, उनीहरू 
ठूला घरतिर 
हामी !
उनीहरूलाई लज्जा बोध हुने 
आँधी नआएसम्म 
उनको नग्नताको चेत खुलाउने गरि 
भूकम्प नउठेसम्म 
ज्वालामुखी नफुटेसम्म 
हामी घर भित्र बसौं 
झ्याल थुनेर बसौं 
कान थुनेर बसौं 
आँखा चिम्लेर बसौं ।

२०७१ जेठ ।