उनीहरू ऐना हेर्दैनन्

उनीहरूले आफ्ना बारेमा धेरै कुरा बताए
केहीले त पत्याए
धेरैले पत्याएनन् 
तर नपत्याउनेले 
नपत्याएको भनेनन्
केहीले ऐना हेर्न भने 
तर उनले ऐना हेरेनन् ।

हो‚ उनीहरू ऐना हेर्दैनन्
आफूले बताएको आफ्नै कुरा ऐनामा मिल्दैन
ऐनाको उनलाई विश्वास छैन 
उनलाई लाग्छ –
ऐना उनको अनुहार देखाउने क्षमतामा छैन
उनलाई ऐना धोका जस्तै लाग्छ 
त्यसैले उनीहरू ऐना हेर्दैनन् ।

उनीहरूलाई सत्य मन पर्दैन
सत्ता प्रिय लाग्छ	
उनलाई राम्रो थाहा छ
सत्य र सत्ता सँगै हुँदैन 
सत्य उनलाई मन पर्दैन
त्यसैले उनलाई ऐना मन पर्दैन 
उनीहरू ऐना हेर्दैनन् । 

सत्ताको त जग‚ चर र छत पनि 
झूटै झूटको हुन्छ
झूट आफ्नै विरुद्धमा पनि हुन्छ 
झूट मनकै विरुद्धमा पनि हुन्छ 
स्वाधीनताको विरुद्धमा
स्वाभिमानको विरुद्धमा 
उनीहरू ताली ठोक्छन् 
र बाली बोक्छन् 
उनीहरू  सत्य र ऐनाका विरुद्धमा बोल्छन्
मनका विरद्धमा बोल्छन्
तर 
उनीहरू ऐना हेर्दैनन् ।
 
२०७९ असार १८