को कसका सन्तान ?

च्यातिएको टोपी र दौरा-
टालेको भोटो र सुरुवाल 
लगाएका मान्छेहरू
निस्लोट अँध्यारोमा 
लाल बहादुर शास्त्री र होचिमिन्ह खोजी रहेछन् 
सल्लोको छेस्को बालेको प्रकाशमा 
पेरिसडाँडा‚ बल्खु र सानेपामा
आफ्नो अनुहार उज्यालो देखाउने 
ऐना खोजी रहेछन्
- ती मान्छेहरू 
एक पटक मुसुक्क हाँस्ने 
साइत पर्खि रहेछन् । 
ऐना फुटेको‚ 
उसले हाँसो पनि फुटेको देखाउँछ
जोडिँदैन फुटेको ऐना
तैपनि जोडिन्छ कि ? -भनेर
पर्खी रहेछन् मान्छेहरू ।
नव लाल बहादुर र नव होचिमिन्हहरु
भारतमा बेथिति उठाइ रहेछन्
अमेरिकासँग साठगाँठ पछिको 
मित्रता गरी रहेछन् 
तर 
सत्य कुरा भन्न 
धेरै हिम्मत गर्नु नपर्ने भए 
र
कुनै जोखिम ब्यहोर्नु नपर्ने भए 
जोसुकैले किटेर भन्ने थिए- 
एउटा प्रश्नको जबाफमा 
शक्तिमा भाकाहरू “को कसको अवैध सन्तान हुन्” - भनेर ।