हुर्केको समयलाई
नियन्त्रणमा राखेको भ्रम पिएर
सुतेकछन् उनिहरु यतिबेला,
संचालन गरिरहेछन् उद्योगहरु — सपनाका 
थाहै नपाइ 
कहाँबाट उत्पादन गरेछन् ?
थोक थोकमै बाँड्न पुग्ने झुटहरु
यसपाली पनि बाली फलेन
तर भकारीका भकारी झूटहरु वितरण भएको छ 
“अनिकाल लाग्दैन अरे”
यो हल्ला पनि 
झुटकै भकारीमा भेटिएछ ।
  
आज फेरि
शहर जाँदैछन् — मान्छेहरु 
नत्थुराम गोड्सेको आगमन रहेछ
हरेक वयस्कलाइ उपस्थित हुन उर्दी छ 
उस्ले प्रवचन दिनेअरे 
“अहिंसा र गान्धीबाद”का बारेमा ।
उत्साहित छन् मान्छेहरु
रमाइरहेछन् 
नाचीरहेछन् 
लाग्छ—
अब घर फर्के पछि

उनको चूलो आफै बल्नेछ
उनले ठानेकाछन् 
गोड्सेका अहिंसा र गान्धिबादका प्रवचनले 
अब उनको जीवनमा बत्ति बल्नेछ 
खेत र बारीमा 
व्याड नराखिकनै 
बाली लटरम्म झुल्नेछ ।

२०७० असार ।