युद्ध भयो – युद्ध भएन पनि

युद्ध भए जस्तो पनि भयो 
युद्ध भएन जस्तो पनि भयो 
त्यसो त बन्दुकहरू पड्किए 
गोली चले
मान्छे ढले
रगतको खोलो बग्यो 
विधवा र टुहुराको हुल बन्यो 
त्यसैले युद्ध भए जस्तै भयो 
युद्ध त भयो ।
तर 
दागेका गोलीहरू निसानामा परेनन्
ढाल्न खोजेकाहरु ढलेनन् 
अरू नै ढले 
दुवैले दागेका गोलीका निसानामा 
अरू नै परे 
विधवा र टुहुराहरूका पती र पिता ढले
एकतातिर हिडेको युद्ध अन्तै पुगे जस्तो भयो 
युद्ध त भयो 
हो, यस्तै — यस्तै भयो 
लाग्छ,
युद्ध त अनाडीहरूले लडेछन् 
युद्ध त अनाडीहरूले धानेछन् 
अनि त 
युद्ध भए जस्तै पनि भयो 
युद्ध भएन जस्तै पनि भयो । 

२०७० असार ।