रङ् पोत्नेहरू

उनीहरू टोलाएका थिए
घामका किरणहरू हेर्दै थिए
उनीहरूले भने
“हामी घामका किरणहरूमा 
रङ् पोत्दै छौं”
हामीले हो भनी दियौं ।

भोलिपल्ट कलिलो घाम
मान्छेका आङमा लाग्यो 
न्यानो भयो
उनीहरूले फेरि भने
“हामीले घामका किरणहरूमा 
रङ पोतेपछि 
“घाम यसरी न्यानो भयो”
“चम्कियो”
त्यसलाई पनि हामीले
हो भनी दियौं ।

फेरि अर्को दिन 
उनीहरू आए
र यस पल्ट भने¬—
“हामीले रङ पोतेर 
घामका किरणलाई 
न्यानु पारेका छौं 
सर्वत्र समान रूपमा बाँडेका छौं 
रङको खर्च र मजदुरी दिनु पर्छ ।”
 
मान्छेहरू
छक्क त परेका छन् 
तर
गाउँमा अहिले चुनाव आएको छ
थाहा छैन
यस पल्ट
चुनाव जीत्नेले 
हावामा पनि रङ् भर्छन् कि ?
हो अहिले
गाउँमा चुनाव आएको छ ।

२०७० असार  ।