सानु बाबुलाई सलाम

मदाडीको एउटा दोमल्ला घरको सिकुवामा बसेर
क्षयरोगले ग्रस्त
एकजना भद्र महिलाले
मलाइ पहिलो पल्ट भन्नुभएको थियो
वहाँको सानु बाबुको कुरा,
र फेरि एक दिन कृष्ण बहादुर काजी
बेलुकाको दुधियाले पुरै नछाडेको जस्तै अवस्थामा 
हतारमा शिबगञ्ज तिर जाँदै हुनुहुन्थ्यो
र भन्नुहुन्थ्यो
सानु बाबुलाई खर्च पठाउने कुरा 
अरू - अरू पनि केही मान्छेबाट
मैले सानु बाबुको चर्चा सुनेको थिएँ मदाडीमा
र मेरो मनमा
सानु बाबुको एउटा तस्विर बनाएको थिएँ ।

भद्रपुरमा मैले भेटेँ
सानु बाबुलाई-
उनका आँखामा
घामको जस्तै चहक थियो
उ माथि - माथि हेर्दै थिए
त्यति बेला उ
आकाश खोज्दै थिए
आकाश गहिरो थियो
उ आकाश रोज्दै थिए
हेरिरहँदा पनि झन् - झन् गहिरो हुँदै जान्थ्यो आकाश
हामीले त सकेनौ आकाश भेट्न
कुन्नि ! सानु बाबुले कसरी भेटे त्यो आकाश ?
कति मन पराए उनले आकाश !
मृत्यु पर्यन्त पनि उनले छाडेनन् आकाश ।
म त कहिले सानु बाबुको निकट परिचित भएँ
कहिले हीरा आकाशको साथी भएँ
कहिले उनको कलमलाई मुद्दा पर्दा
म पत्रकार हीरा आकाशको वकिल पनि भएँ
कति सुन्दर कलम थियो सानु बाबुको
त्यो कलमको चहक देखेर
मैले आरिस पनि गरेँ ।

सिर्जनामा रमाएको मेरो सानु बाबु
स्वाभिमान र श्रममा रमेको मेरो कवि साथी हीरा आकाश
आकाशका पत्र - पत्र पल्टाएर
जिजीविषा रोप्ने र गोड्ने स्रष्टा पो थियो उ त
किन उसलाई मृत्युले यति चाँडै मन परायो ?
आज उसको स्मृतिमा म अलिक गलेको छु
एउटा कवि मित्रको अवसान पछि
म शून्य जस्तै भएको छु
अलिक थाकेको छु ।

तर मलाइ थाहा छ
उसका बिचारहरूलाई
उसका पदचापहरूलाई
मृत्युले दखल गर्न सक्दैन
स्वयम् मृत्युको भ्रम हो
हीरा आकाश कहिल्यै मर्न सक्दैन
हीरा आकाश चम्कन छाड्दैन ।
कविताका प्रवाहले अमर रहेको
कवि हीरा आकाशलाई सलाम !
मेरो सानु बाबुलाई सलाम ! !
स्वाभिमानको शक्ति प्रवाह गर्ने
हीरा आकाशको त्यो शक्तिशाली सुन्दर कलमलाई
मेरो लाख - लाख सलाम ! ! !

२०७१ कार्तिक ।