सिंहदरवार

घर, महल र दरबार
जे भने पनि हुन्छ
घर भित्र मन हुन्छ
रहर पनि हुन्छ 
सहर पनि हुन्छ 
हो, 
मान्छेको घर भित्र
खुसीको लहरै लहर हुन्छ ।

तर
एउटा घर छ
घर अलिक ठूलो छ
मान्छे त्यसलाई दरबार भन्छन् 
घरभित्र सहर छैन
बाहिर चारैतिर सहर छ 
यो राजधानीमा छ 
र यसलाई सिंहदरवार भन्छन् ।


सिंहदरवार
धुमधुमती बसेको छ 
लाग्छ, 
उ बल्छी बोकेर 
अल्छी पाराले बसेको छ
मान्छेहरू बर्को ओढेर 
लर्को लागेर पसि रहेछन्
जो पसे 
गजधम्म भएर बसेका छन्
पसेकाहरु निस्कँदैनन् 
बसेकाहरु उठ्दैनन् 
विचित्र छ सिंहदरवार
त्यहाँ पसेको मान्छे
आफै सिंहदरवार जस्तै भएको छ 
जो पस्यो 
आफै सिंहदरवार भएर बसेको छ
जो पस्यो 
उ दरबारै दरबार भएको छ 
सिंहदरवारमा उ फसेको छ ।

अलिक ठूलो जिज्ञासा छ 
के हुन्छ ? सिंहदरवारमा 
किन त्यहाँ पसेपछि 
मान्छे त्यहीँ बसेको छ ?
निस्कँदैन किन ?
लाग्छ 
उत्तर त सजिलो छैन 
तर सबैले बुझेको छ 
सबैले जानेको छ 
सिंहदरवारलाई सबैले चिनेको छ ।

के छ सिंहदरवारमा ?
के छैन सिंहदरवारमा ?
कमिशनतन्त्रको सुन्दर बजार छ
होलसेलमा कारोबार हुन्छ
भ्रष्टाचारको विरोधको सुन्दर छाना छ
त्यसको मुनी 
भ्रष्टाचारको नगर छ 
सिंहदरवार भित्रै बगर छ 
वन, जङ्गल छ 
धेरै मङ्गल छ 
फगत मन छैन 
र निमुखाहरूलाई सास्ती छ 
अरु केही छैन ।
भित्र पस्ने लाई 
मझेरीमा गजधम्म वस्नेलाइ
सिंहदरवारले तालिम दिन्छ  
सिकाउँछ
“जे गर्छौ ¬— त्यो नभन
जे भन्छौ — त्यो नगर ।”
यसरी तालिम लिएकाहरु 
ढुक्क भएर बसेकाछन्
र त्यसै गर्छन्
सिंहदरवारमा ।