क्यान्सर-वार्ड

क्यान्सर-वार्ड

डव्लु.वी.सी.,हेमोग्लोविन र प्लेटलेटहरु जोडेर
हामी-आफन्तहरुको
जिजीविषा खुस्कन्छ कि भनेर
उनको जिजीविषा उनकै काखीमा सिउरँदै
मायालु मनहरुलाई
धैर्यको मलमपट्टी छर्कदै
हामी हिंड्दैछौं
पराजित युद्धको अन्तिम किनारामा उभिएर
युद्ध हारेको घोषणा सुन्न
युद्ध जितिन्छ कि भन्ने आशा लिएर पर्खदै छौ
यहाँ-हामी
रोगी छौं
रोगीका आफन्त छौं
चिकित्सक र परिचारिका छौं
सवै गम्भीर छौं
हामी हाम्रा पीडाहरुलाई
दुवै ओठले च्याप्न सक्छौं
आफन्तहरुका-पीडाहरु,
उनका रोगीका गतिविधिहरु
मनभरि छड्केका खिचडीका ओजनहरु
हामी आँखामा पढ्न सक्छौं
कसैका हत्केलाबाट
आज पनि जीवन खुस्कन्छ कि ?
हामी हताश छौं
लाग्छ-हामी हार्नै आँटेको युद्ध लड्दै छौं ।
यो क्यान्सर-वार्ड हो
यहाँ मृत्यु पल्केको छ
हामी चनाखो हुँदा-हुँदै पनि
मृत्यु फुत्त भित्र पस्न सक्छ !
सिंहासनमा भाले भएर बस्न सक्छ !
कसैलाई टिपेर जान सक्छ !
मृत्यु दिउँसै पस्न सक्छ !
मृत्यु राती पस्न सक्छ !
ऊ झ्यालबाट पनि ढोकाबाट पनि पस्न सक्छ !
मृत्यु-लुकेर यहीं कतै बस्न सक्छ !
रंगीन-रंगीन सपनाहरुलाई
संभ्रान्त जीवनका सुखद योजनाहरुलाई
परेलीछेवैको तरेलीमा तानेर हेर्दा-हेर्दै
माया गर्दा-गर्दै
एउटी सुकुमारीले हिजो बिहानै मुत्युवरण-गरी
आफन्तहरुको मन चिमोटी- चिथोरी
मस्तिष्कभरि बम भएर फुटी
अनुभूतिभरि चहर्याई
ऊ गई र एउटा फोटो मात्र रही
आजै ऊ विस्मृत भई
हो-यसरी ऊ बिलाई ।
उता-एउटा सज्जन
पत्नी-पीडाको भक्कानु खुकुल्याउँदैछन्
उनी स-साना छोरा-छोरी
बाजे-बज्यै सँग राखेर
यो वार्डमा पसेका थिए-पत्नी लिएर
भद्र थिए-सहयोगी थिए
बरा ! आजै पत्नीविहीन भए !
सवै कुरुवाहरु
स-साना नानीहरुको तस्वीर आँखामा तानेर
आफैं-आफ्नो मन थिचिरहेछन्
हत्केलामा लामो आयु-रेखा थियो-बिचरीको भन्दै
अभिशप्त परिवेशले आफूलाई मिचिरहेछन् ।
पल्लो वार्डको कुनामा
नव दम्पतीको एउटा जोडा छ
चिकित्सकहरुले भनिसके पति अव थोरै दिनको पाहुना हो
उसको सेवामा समर्पित गर्भवती पत्नी
अहिले थाकेकी त छैन
बरा ! पाकेकी पनि छैन
अहँ ! उसले सन्तानलाई वावु देखाउन सक्नेछैन
‘निको हुन् नसक्ने’-लाई
‘निको हुन् सक्ने’-पढ्दैछे
ऊ-पतिका हत्केलाको लामो आयुरेखा हेर्दैछे
यस्तो लाग्छ-उसको राम्रो चिटिक्क परेको अनुहार
ढुंगा हानिसकेपछि लाग्न वा“की रहेको सीसा जस्तो मात्र रहेको छ ।
यस्तै विभीषािकाहरु
आगाका लप्काहरु
अभिशप्त क्षणहरु
आतंकहरु -थपिंदैछन्
दूधमुखाहरु पनि क्यान्सर जन्माएर आउँछन्
किशोरहरु,किशोरीहरु,युवाहरु, युवतीहरु
बग्रेल्ती क्यान्सर जन्माइरहेछन्
यो क्यान्सर-वार्ड हो !
मृत्यु-यहाँ छाती फुलाएर हिंड्छ
निरीहसँग पनि भिड्छ
कसैको छेवैमा हुन्छ
कसैसँग अंकमाल गर्छ
यो क्यान्सर-वार्ड हो !
मृत्यु-भाले भएर यहाँ उफ्रन्छ !