हामी फेरि रित्तिएका छौं

हामी फेरि रित्तिएका छौं

सुकेर पट्‍पटी फुटेको वाँझो धरतीमा
छरपष्ट भएर हामी पोखियौं
हामी यसरी पोखिनु-
उपेक्षा र तिरस्कारमा जोखिनु-
अलिकति, रहर पनि थियो
अलिकति अभर पनि थियो
आकस्मिक पनि थियो/ नियमित पनि थियो
हो, बाँझो धरतीमा हामी पोखिएको-
पट्टेर-पर्तीमा छरपष्ट देखिएको
त्यो क्षण त्रासदीपूर्ण थियो
तर आस्थाका टाकुरामाथि हाम्रो मन थियो
हामीलाई होचो देख्नेहरुका
सगरमाथामा हाम्रो सुन्दर बन थियो
तै पनि हामीलाई उम्रन सकस थियो ।

हामी, यसरी बाँझो धरतीमा पोखियौं
‘हामी शून्य भयौं’- भनेर लेखियौं
प्रहशनहरुले हामीलाई थिचे
वेथितीहरुले सर्वत्र मिचे
खडेरीले डढेर पनि हामी फुट्‍न सक्यौ
आफैंभित्र जरा जन्माएर- धरतीमा गाड्‍यौं
हामी बाँझो धरतीमा पोखिएका मकै थियौं
विउ बनेर उमिर्यौं र जाग्यौं ।

यस्तो त हुनै सक्तैन
‘कहाँ प्रकृति पग्लन्छ र ? गल्छ र ?’
आँखिभौं खुम्च्याएर कोही मान्छेहरु भन्दै थिए
रत्नाउलो जस्तो झार हो
उम्रेको देखिनु त हार हो
यसो भन्दै कोही- खुशी खोज्दैथिए
तै पनि हामी उमिर्यौं- लह-लह भयौं
बारीका कान्लाभरी भयौं
हो, वारी र हामी मिलेर मकैवारी भयौं ।
एकदिन-
हाम्रा धान-चमरा निस्के
सुत्ला च्यापिए र जु“गा निस्किए
जस्ले हामीलाई नासिउन् ठानेका थिए- छक्क परे
जस्ले हामीलाई मासिउन् ठानेका थिए- थचक्क वसे

मन पोलेर- उनीहरुको छटपटी फक्रियो
मुटु वलेर- उनीहरुको खट्‍पटी हुर्कियो
यसरी- उनीहरु गल्दै गए
हामीहरु वल्दै गयौं
हामी विउ थियौं- हामी बोट भयौं ।

हामी बल्ल-फल्न त फल्यौं
वारी भरी भएर बल्यौं
हमीसँगै दुर्भाग्य पनि फलेछ-
पहिल्यै हामीसँग पोखिएको एउटा विउ
उम्रन त उ पनि उम्रेछ
तर उ मकै भएनछ
हाम्रा माझमा उ हामीजस्तै भएनछ
उ विउ छँदा मकै थियो
उम्रदा बाँदरको वोट भएछ
हतारमा फलेर बाँदरकै गोठ भएछ
र अहिले
हामीसँगै उम्रिएको बाँदरले
यसपल्टको बाली रातभरीमा सखाप बनायो
भर्खर च्यापेका सुत्ला च्यातेर विनास गर्‍यो
फेरि एकपल्ट इतिहासमा
बा“दरको अभिलेख ताजा बनायो
हो, हामीसँगै जन्मेको बाँदरले
यसपल्टको पनि बाली सखाप बनायो
यसरी, अहिले फेरि एकपल्ट- हामी रित्तिएकाछौं
सँगै उम्रिएको बाँदरले वाली खाइदिएर हामी सिद्धिएकाछौं
हामी फेरि रित्तिएका छौं ।