इलाम

लाजले भुतुक्कै भएर
गालामा रगत सोहोरेर थुपारेकी
अनुहारभरि रातो भरिएकी
वैंसको जस्केलोबाट फुत्तै भित्र पसेकीजस्ती
भर्खर-भर्खरै यौवनसँग भेट भएकी
कति हो कति राम्री छे इलाम !
पहेंलो सुन्तला टाँसेकी छे
हरियो चियाको बूटा गाँसेकी छे
आजकाल इलाम इस्कूस, अलैंची र दूध भएकी छे
बम्बैसन जस्तै मीठी छे
कति सेती ! कति स्निग्ध छे !
साँच्चै, इलाम मायालाग्दी र पवित्र छे
घरि-घरि मन खोस्छे र माया लाउँछे
कपडा लगाएर ठाँटिएकी किशोरीलाई भिजेको हेर्न
एक हूल बादलका मुस्लाहरु माईपोखरीबाट पानी लिएर आउँछन्
इलामलाई छोप्छन्, जिस्क्याउँछन्, खिज्याउँछन्
पानी छयापेर भाग्छन्
घामका पाइलाहरु टा“सेर
इलाम यति बेला हुरुक्क हुनुजस्ती हुन्छे.
श्यामकृषणले भनेजस्तै इलाम त
जे पनि पाइने पुस्तक हो
देशभरि यसको वीउ रोप्ने
अर्को भूपी जन्मेका भए इलामलाई रोपे हुन्छ !
जहाँ-जहाँ इलाम सर्छ
साँच्चै, त्यसले मान्छेको मन छुन्छ !