मान्छेको अस्तित्व

मान्छेको अस्तित्व

कैयौपल्ट शिर उठाउन खोजेर पनि
झुकिरहनु परिरहेछ
कैयौपल्ट चिच्याउन खोजेर पनि
निस्सासिनु परिरहेछ
कैयौपल्ट उभिन खोजेर पनि
लडिरहनु परिरहेछ
साँच्चै अव यहाँ बाँच्नै जटिल छ
वातावरणभरि अभिशप्त मात्र व्याप्त छ ।
हामीले टेकेको धरती नै भास्सिन लागिसक्यो !
हामी ओत लागेको आकाश नै खस्न लागिसक्यो !
हाम्रो सोचाइसँगै बलात्क्ार हुन् लागिसक्यो !
लौन ! कोही भए
यी दूधमुखा बालकहरुलाई
डुव्नबाट बचाइदेऊ !
यी सुशील अनुहारहरुलाई
कच्याक-कुचुक हुन्बाट जोगाइदेऊ !
यी किशारी बहिनीहरुलाई बलात्कार हुन् नदिई भगाइदेऊ
उ परबाट एउटा हूल आइरहेछ
छातीभरि पीडा र वेदना बोकेर
त्यो क्षितिजबाटै एउटँ सन्त्रास आइरहेछ
अत्यासलाग्दो आगत बोकेर
लौन ! कसैले विचार गर्न सक्ने भए भन
के हुन् लागिरहेछ यहाँ ?
लौन ! कसैले ठम्याउन सक्ने भए भन
को आइरहेछ त्यहाँ ?
लौ हेर ! त्यहाँ त अचम्म-अचम्मका मानिस आइरहेछन्
बूडा-खाडाहरु पनि छन्
आइमाई र केटाकेटीहरु पनि छन्
अहो, ती केटाकेटी त लुला र लँगडा भइसकेछन् यति चाँडै
लौ सुन ! के भनिरहेछन् यिनीहरु
हिरोसिमामा पड्‍केको बमले लङ्‍गडा भयौं भन्दैछन्
ती बालकहरु
भियतनाम र लाओसमा मान्छे मर्दा बिधवा भयौं
भन्दैछन् ती तरुनीहरु
कम्बोडियामा लडाइ“ पर्दा जर्जर भयौं भन्दैछन्
ती बूढीहरु ।
फगत स्खलित वीर्य गुमायौं भनेर
कसरी सन्तोष मान्छन् ती बूढीहरु ?
फगत एउटा संभोग गुमायौं भनेर
कसरी चित्त बुझाऊन् ती तरुनीहरु ?
मात्रै पिताको स्नेह पाएनौ भनेर
कसरी ढुक्क बनून् ती केटा-केटीहरु ?
लौ ! कसरी बाँच्न सक्छ मान्छे अब
आफ्ना आस्था सँगालेर
लौ ! कसरी हाँस्न सक्छ मान्छे अब
आफ्ना सिर्जनाहरु अँगालेर ?
कति हताश र निराश भैसकेको छ मान्छे
कति संत्रस्त र कठोर भैसकेको छ मान्छे
लौ है ! मान्छै मार्ने विज्ञान मारेर मात्रै
मान्छे बचाउन सकिन्छ
एउटा कठोर यन्त्रणासँग जुधेपछि मात्रै
मान्छे बचाउने विज्ञान र मान्छे बँचाउन सकिन्छ !