सभामुख महोदय !

सभामुख महोदय !

रस निचोरेको कागती जस्तो
र कागतीबाट निचोरेको रस मुखमा परेजस्तो
तमतम्याइलो अनुहारलाई संत्रस्त बनाएर
पिठयूँमा महँगी त्यसमाथि तस्कर र त्यसमाथि नेताहरुलाई बोकेर
मेरो देशका धेरै मान्छेहरु
भरखरै शुरु भएको संसद्‍तिर कान थाप्तैछन्
सभामुख महोदय !
हो, धेरै मान्छेहरु संसद्‍तिर आकर्षित छन् ।
यी मान्छेहरुलाई नेताहरु जनता पनि भन्दछन्
भेडा-बाख्रा ठान्दछन्
थाप्लामा बूट बजार्छन्
त्यसैलाई उपहार भन्दछन्
तैपनि प्रजातन्त्र आएको छ
त्यसैले जनता थप्पडी मार्दछन्
सभामुख महोदय !
मान्छेहरु संसद्‍तिर कान थाप्तैछन्
सांसदको खबर बुझ्दैछन् ।
हो, जनतामा जागरुकता बढेको छ
चैत लाग्यो चेतना पनि पाउलिएको छ
तर उसका टाउकामा सांसदका गाडीको
सुबिधाको प्रहार परेको छ
आँखामा बलिया सांसदको चिल्लो कारको बहार भरिएको छ ।
वास्तवमा जनता-जनार्दन हो
रित्तो खल्तीमा हात हालेर
भोट दिएका नेताको नोटले टम्म असकोटको फोटो अखबारमा हेरेर
उ मख्ख छ, दङ्‍ग छ
हो, सभामुख महोदय !
ढाकर बोकेर तोक्मा लगाउँदै
भोट दिएका नेता लिएर
बैंकक उडेको जहाज हेरेर ढुक्क छ
फेरि चुनावमा भोट दिन ऊ ठिक्क छ ।
सांसद लिएर पूर्णियाबाट फर्केको
भाडा नपाएर अँध्यारो अनुहार लाएको
पुलिसले हप्काएको
गृहमन्त्रीले जहाजमा उतारेका सांसदको
निशुल्क सेवा गरेको
बिराटनगरको मारुतीको ड्राइभर पनि
संसद्‍को समाचार सुन्दैछ
सरकार थाम्ने सांसदको भाषण बुझ्दैछ
र आफैलाई सांसदले इमान्दार भनेपछि
ड्राइभरले आफूलाई बेईमान पाएको छ
सभामुख महोदय !
उसले त ईमान र बेईमान शव्द नै साटासाट गरेको छ ।
भरखरै संसद्‍ शुरु भएको छ
मान्छेहरु कान थाप्तैछन्
समाचार सुन्दैछन्,कुरा बुझ्दैछन्
त्रसित छन्, सशंकित छन्
यसपल्ट पनि कतै धेरै मन्त्री बिरामी पर्छन् कि ?
बैंकक सिंगापुर जान्छन् कि ?
इमान्दँरलाई पूर्णिया लान्छन् कि ?
सभामुख महोदय !
जनता साँच्चै आतंकित छन्
सुबिधा बढाएर सांसदहरुले यसपल्ट पनि
ढाढ मस्काउँछन् कि ?

०५३/१२/०९