ऊ त धपक्क भएर बलेको छ

ऊ त धपक्क भएर बलेको छ

एउटा तारा झर्यो !
दिनदहाडै सूर्यास्त भयो
अन्धकार छायो
झापाको आकाशबाट एउटा नक्षत्र खस्यो
मेरो. मन मान्न त तयार छैन
तर हो ! मेरो प्यारो मित्र गयो
ऊ शून्यमा बिलायो ! ऊ हरायो !
अरुका पीडाहरुलाई निधारका रेखाहरुमा भरेर
आलस्य र थकानलाई पसीनामा पुछेर
भोकै-तिर्खै तर प्रफुल्लै रहेर
झापाका गाउँ-गाउँका बाटामा भेटिन्थ्यो ऊ
हरेक सुख र दु:खका क्षणमा
झापाका माटामा देखिन्थ्यो ऊ
जनताका दुश्मनहरुका काला किताबमा सधैं लेखिन्थ्यो ऊ
जहाँसुकै जनताका मायाले छेकिन्थ्यो ऊ
स्कूल पढाएर फर्कंदा बाटामा
देश सिंगार्नेे मन्त्र घोक्तै हिंड्थ्यो ऊ
साहित्यका विधाहरुमा
चेतनाको आगो फुक्तै हिंड्थ्यो ऊ
फुर्सतका क्षणहरुमा
सिर्जनाको वीउ रोप्तै हिंड्थ्यो ऊ
आफू भोकै रहेर
अरूले खाए-नखाएको बुझ्दै हिंड्थ्यो ऊ
आज सबैको मन पाकिरहेछ
सबैका लागि अलिक दिन वाँचि दिएको भए हुन्थ्यो ऊ ।
उसलाई
सुस्ता र महेशपुरको अतिक्रमणमा
घाइते भएको देखेको थिएँ
सुखानी र कनकाईमा वीरहरु ढल्दा
मुटु छिया-छिया भेटेको थिएँ
उ भोक-भोकै झापाभरि डुल्थ्यो
जनमतमै पञ्चायत ढाल्ने भन्थ्यो
आज त सबै संझनामात्र रह््यो
मेरो मित्रको निधनले मुलुकै क्षत-विक्षत भयो
मेरो मित्र धरतीबाट बिदा भयो
ऊ शून्यमा बिलायो ।
हैन, ऊ मर्नै सक्तैन
वीरहरु कहिल्यै मर्दैनन्
ऊ त तारामा बदलिएको छ/अमर भएको छ
मान्छेको मनमा सरेको छ
मुटुमा भरिएको छ
घातक क्यान्सरले टपक्क टिपेर उसलाई लगेको छ
ऊ झापाको धरतीबाट आकाशमा सरेको छ
ऊ वीर हो मर्नै सक्तैन !
ऊ त धपक्क भएर बलेको छ !

२०५० आषाढ ।
(द्रोणाचार्य क्षत्रीको निधनको लगत्तै लेखिएको)