अलिकति लाज मान !

एउटा फोटो छापिएको रहेछ – अखबारमा

पाँच वर्षकी नानीको
ऊ एउटा दाम्लोले बाँधिएकी छ
ऊ दृष्टिहीन छ – बेसहारा छ
निर्धन बाबु –आमाले उसलाई हेर्न नभ्याएर
दिनभरि – बाँधेर छाड्छन्, साँझमा आएर खोल्छन्
ऊ संसार बुझ्न सक्दिन, हेर्न सक्दिन, देख्न सक्दिन
कठै ! विचरी ! मनीषा –
रूंदा पनि अर्थ खुल्ने गरी रून सक्दिन ।
चार वर्षसम्म दृष्टि शक्ति रहेकी
संसार हेर्न र बुझ्न थालेकी
गोरखामा जन्मिएकी मनीषामा
अर्को उपेन्द्र देवकोटाको संभावना जन्मँदै थियो
कति क्रान्तिकारी चमकले भरिएका थिए उसका आँखाहरू
दोस्रो बाबुराम भट्टराईको संभावना फक्रँर्दै थियो
र अरू पनि को – को जन्मेका छन्
ठूला – ठूला मान्छेहरू गोरखामा ? – मलाई थाहा छैन
उनले त दृष्टिहीन मनीषाका लागि केही गर्न सकेनन्
तर गोरखामा मनीषाहरूलाई
दाम्लोले बाँध्न निषेध गर्ने योजना भरिएको थियो
उसका आँखाका चमकहरूमा ।
तर,
निमोनियाको दवाई नभेटेर – उसले दुवै आँखा गुमाई
निर्धन आमा –बाबुका कारण दाम्लोले बाँधिएकी छ ऊ,
गोरुजस्तै भई, भैँसीजस्तै भई
अझ उनीहरूको जस्तो कराउँदा
एकमुठी घाँस पनि नपाउने भई
सभ्य मान्छेहरूका लागि एउटा प्रश्न बनेको छ
र, त्यो प्रश्न यस्तो छ
साँच्चै सभ्य मान्छेहरू ! एकैछिन् आफूलाई रूपान्तर गर
त्यस नानीमा आफूलाई सार र प्रवेश गर
तिमी आफैँ दाम्लोले बाँधिएको ठान
आफैलाई दृष्टिहीन मान
सभ्य मान्छे !
तिमीले अन्धा र असहायहरूका लागि संस्था खोलेर
डलरको खोले खाएका छौं भने
कृपया, मनीषालाई सम्झेर अलिकति लाज मान ।

( २०५९–१२¬–९ मा कान्तिपुरमा छापिएको एउटा समाचार र फोटोमा आधारित )

विषय-सूची