नयाँ बर्षसँग

 

ऊ, फेरि आइपुगेछ
टुप्लुक्कै – आइपुगेछ
जसरी आउँथ्यो – पहिला
त्यसरी – नै आएछ
ऊ– आइपुगेछ ।
सोचेको थियो
यसपल्ट त–
अलिक भिन्न अनुहार लिएर आउला
प्रसाधन भरेको मुस्कान भिरेर आउला
लागेको थियो-
ऊ– यसपल्ट त
हौसला र उत्साह पनि लिएर आउला
जोस र जाँगर लिएर आउला
जिजीविषा लिएर आउला
नवयौवना भएर आउला
सिँगारिएर नव दुलही भएर आउला
घरभित्र बत्ती बाल्ने गरी आउला
उज्यालोको मुस्लो लिएर आउला ।
यसपल्ट पनि वैशाख आएको छ
छानामा आएको छ, आँगनमा आएको छ
कोठा-कोठामा आएको छ
वैशाख छताछुल्ल भएर आएको छ
तर, यसपल्ट पनि
मान्छेको मनमा वैशाख छिरेको छैन
हावा, सिर्जना बनेर फिर्नुपर्ने !
यसपल्ट पनि हावा-त्यसरी फिरेको छैन
यसपल्ट त
‘नयाँ वैशाख आउँछ’– ठानेको
वैशाख चैत बनेर आएको छ
पुरानै वैशाख आएको छ
कहाँ छ सिर्जना, उत्साह र जाँगर ?
छाम्दा पनि नभेटिने, हेर्दा पनि नदेखिने भएर
नयाँ, नयाँ भनेर–पुरानै वैशाख आएको छ ।

वैशाख त धेरैपल्ट आइसक्यो
तर नयाँ वर्ष भएर वैशाख आएन
वैशाख आएर पनि आएजस्तै भएन
यस मुलुकमा नेताले बुझ्दै वुझिदिएनन्
मान्छेका मनमा वैशाख आएन ।

आदरणीय नेताहरू !
‘कृपया वैशाखमा अलिकति रङ्ग भर
बेइमान हुने क्रम भङ्ग गर
वैशाख सजाउ
आफैँभित्र इमान जगाउ
नबिगार मुलुक, बरु सक्छौ भने सजाउ
इमानका घण्टहरू बजाउ
मनभित्र, मस्तिष्कभित्र मायाको स्रोत बनाउ
भोलिका मान्छेले पाउने मायाको सागर बनाउ ।’

पुरानै अनुहार भएको ए ! नयाँ वर्ष !
दिक्क लाग्ने गरी
उसरी नै किन आउँछौं ?
सदबुद्धिका पोकाहरू बोकेर आऊ
इमान र सिर्जनाका पुन्तरो बोकेर आऊ
नेताहरूलाई पुग्ने गरी यस्तै यस्ता
खजाना बोकेर आऊ
देश बनाउने जाँगर र विवेक
नेताहरूलाई दिने घोषणा गरेर आऊ
बेइमानीहरूलाई निमोठ्ने गरी आऊ
नयाँ वर्षलाई स्वागत छ
मनले, हृदयले र मस्तिष्कले स्वागत छ
कृपया– यसपल्ट तिमी
कम्तीमा
जनतालाई मालिक बनाउने गरी आऊ
वैशाख ! नयाँ वर्ष !
यसपल्ट यति त दिने गरी आऊ !
२०६४ बैशाख १

विषय-सूची