मलामी जनसँग

 

जो, मेरो मृत्युको समाचार सुनेर आउनुभएको छ
मलाई माया गर्नुहुन्छ
सहानुभूति राख्नुहुन्छ
र त मेरो मृत्युमा मलामी हुनुभएको छ
सबैलाई मेरो अन्तिम नमस्कार छ-
जो आउन चाहेर पनि
आउन सक्नुभएको छैन
उहाँहरूलाई पनि नमस्कार छ
सबैलाई मेरो अन्तिम सलाम छ ।

आदरणीय मलामी जनहरू !
यस्तै रह्यो जिन्दगानी
केही गरौंला भन्ने थियो
गर्न पनि सकिएन
अलिक बाँचौंला भन्ने थियो
बाँच्नै पनि सकिएन,
जसरी बाँचियो
बाँचेकै पनि केही अर्थ रहेन
जिन्दगी- जिन्दगी जस्तै भएन
मृत्यु त वरण गरियो
त्यसलाई गरूङ्गो बनाउन पनि सकिएन
आफ्नू र अरू कसैको लागि पनि
जिन्दगी बाँच्नै सकिएन
जिन्दगी-जिन्दगी जस्तै भएन ।

अब त शव भैसकेको छु म
आगोबाहेक अरू केहीले छुँदैन
शवलाई माया गरेर पनि केही हुँदैन
नरूनुहोस्, मलामीज्यूहरू !
मैले तपाईंले माया गर्ने कामै गरेको छैन
निरर्थक जस्तै रह्यो जीवन
स्मृतिलाई अटल बनाउनै सकिएन ।

केवल, एउटा यात्रा पुरा भयो
जो जन्मबाट सुरु भएको थियो
कहिले रोटी खोज्दै
कहिले गोटी खोज्दै/ भौतारिंदै
विपनामा लड्दै, सपनामा उड्दै
कावा खाँदै / हावामा बहँदै
जिन्दगी, त्यसरी बगेको थियो
कहिले विना भर, कहिले विना डर
सधैँ अभरै –अभर
उडेको चङ्गा जस्तै थियो
तर धागोसम्म थिएन
अनि त भन्छु–
जिन्दगी जिन्दगी जस्तै भएन
तैपनि पूरा भयो
अब त धूवाँ हुँदै छ
जिन्दगी साँच्चै धुवाँ भएर बादलतिर जाँदै छ ।
र बादलमा मिल्दै छ ।

कहिले चोक-चोकमा
कहिले भोकको झोँकमा
सधैँ शोकमा
विना थोक, खुद्रा– खुद्रामा
तपाइहरूले भेट्ने गरेको ‘म’
अब पूर्ववत् नभेटिने भएको छु
तपाईहरू, फर्केर घर जानुहुन्छ
म अन्तै लाग्ने भएको छु –
यसरी यात्रा पुरा हुँदै छ – मेरो
म धुवाँ भएर आकाशमा बिलाउँदै छु
यसरी- आज म अन्तिम सलाम गर्दै छु
तपाईको स्मृतिबाट ‘म’ बिदा हुँदै छु
सलाम ! म बिलाउँदै छु ।
के भन्ने ? जिन्दगीलाई खोइ ?
अलिक जान्नेले जे भने पनि हुने रहेछ !
नजान्नेले, भएको पनि भन्न नहुने रहेछ !
जिन्दगी सरल हुन्छ कि ? भनेको त
झन्– झन् सङ्कटतिर जाँदो रहेछ
यस्तै अनुभूत भयो – भोगियो
थाङथिलो थियो जिन्दगी
कष्ट र सङ्कटहरू बग्रेल्ती भोगियो
यसरी नै आज…
आफ्नै जिन्दगी अतीत भयो ।

आदरणीय, मलामी जनहरू !
मैले त सानो तस्विर पनि छाड्न सकिन
तपाईहरूलाई केही दिन सकिन
तस्विर मैले बनाउनै सकिन
माफ गर्नुहोला !
पर्सि हैन, भोलि बिहानै
तपाइले सम्झन लायकै म रहिन
त्यसैले-
मेरा सन्तानले झोसेको आगोले डढ्नुपूर्व
म त आत्मग्लानिले डढेको छु
भित्र-भित्रै म बलेको छु
म मुर्दा हुनुपूर्व नै जलिसकेको छु
यो त मात्रै औपचारिकता हो
अस्ति नै म खरानी भएको छु ।
इच्छा त अनन्त थिए
असीम थिए
आकाङ्क्षाहरू लटरम्म थिए
तर ती त – मात्र थिए
इच्छा र आकाङ्क्षाहरू
हावा खुस्केको बेलुनजस्तै भए
ती पराजित थिए / निर्वासित भए
अब त यी सबै हेर्न सकिने र देखिने
ऐना फुटेर झर्यािम्मै भएको छ
लेख्न सक्ने कलमको मसी सकिएको छ
निब भाँचिएको छ
मृत्युसँग मेरो अङ्कमाल भएको छ ।
अन्त्यको सीमा नाघेर पनि
म अतिक्रमण गरिरहेछु
मान्छेको स्वभाव
मृत्युपछि पनि बताइरहेछु
जवर्जस्ती गरिरहेछु
गनथन भनिरहेछु
मेरा प्रियजनहरू !
म अब इतिहास भएको छु
केवल स्मृतिको ।
र अझै अन्त्यमा–
एउटा दुस्साहस गरेको छु
अलिकति अनुनय / अलिकति विनय
केभन्दा तपाईको मन पग्लन्छ ?
ती सबै लय – मेरो बह
मैले गर्न नसकेका कामहरूमध्ये
केही बेर्नाहरू रोप्नु थियो / हुर्काउनु थियो
मैले सकिन
मेरो नाममा केही दया गर्न सक्नुहुन्छ भने
हरेक गाउँ र हरेक सहरमा–
कृपया, एउटासम्म भए पनि
इमानका बेर्ना रोपिदिनुहुन्छ कि ?
हुर्काइदिनुहुन्छ कि ?
मेरा प्रिय मलामी जनहरू !
म जन्मेको, मरेको गाउँ र सहरलाई
एउटा पनि इमानका बिरुवा छैनन् भन्ने
बात लाग्नबाट बचाइदिनुहुन्छ कि ?
र अन्त्यमा- अन्तिम सलाम !

विषय-सूची