लेख / रचनाहरू

हराएको साथी मभित्र भेटिंदैन

विषय-सूचि

एउटाले अर्काको हात समातेर
लहरै उभिएर
लाजले किचिएर -अलिक निहुरिएर
मेरा केही साथीहरु
गति छेक्ने मतो गर्दैछन्

हामीले दुर्गन्ध भनेको रछयानलाई
उनीहरु नै नाक थुनेर अत्तर छर्कँदैछन्
मेरा केही साथीहरु दुर्गन्धलाई अत्तर भन्दैछन् ।
मैले त केही साथीहरु गुमाएको ठानेको छु
उनको मस्तिषकमा दुर्गन्ध सञ्चार भएको मानेको छु
देखेको छु
दुर्गन्धलाई अत्तरभन्दा खुम्चिएको नाक छोपेका छन्
देखेको छु
जबर्जस्ती ओठ टोकेर अविश्वास धोकेका छन्
देखेको छु
उनले सभ्यताका मुनालाई उम्रन रोकेका छन्
देखेको छु
सिर्जनाको भारी बोक्छौं भन्ने साथीहरुले
मस्तिषकभरि ध्वंसको बारुद बोकेका छन्
मेरा साथीहरुले
दुर्गन्धलाई अत्तरभन्दा आफ्नै मस्तिषकमा दुर्गन्ध भरेका छन् ।
हिजो हामी सँगै दुर्गन्धका शिकार भएका थियौं
हिजो उनका ठाउँमा उभिनेहरुका लागि हामी बिकार भएका थियौं
दुवैले भनेका थियौं
उज्यालो हुन् लागेको छ ,छेकेर घाम झुल्कन रोकिंदैन
जाल हानेर उज्यालो छेकिंदैन
हो, उज्यालो भयो
एउटा घाम झुल्कियो
हिजो घाम छेक्न, उज्यालो रोक्न खोज्नेहरु
विस्थापित भए ! गए !
मेरो साथी , हिजो घाम छेक्नेका ठाउँमा भए ।
उनी त गएछन्
विवेक छाडेर गएछन्,ईमान हराएर गएछन्
उनी जान त गए
सबै गुण निर्वासन गरेर गएछन्
अवगुणहरुलाई धारिलो पारेर पो गएछन् ।
ठिकै छ, मेरो साथी तिमीलाई मन लागेको गर
बिन्ती , तिमीले हिजो भन्नेगरेका यी हरफहरु एकपल्ट संझ
फुट्न लागेको उज्यालो रोकेर रोकिंदैन
उदाउन लागेको सूर्य छेकेर छेकिंदैन
तिमी दुर्गन्धमा अत्तर दल
तर
अत्तर दलेर दुर्गन्ध रोकिंदैन
मैले त एउटा साथी हराएको छु
मभित्र अब ऊ भेटिंदैन ।

०४९/६/११

Leave a Reply

Your email address will not be published. Required fields are marked *