यसपल्ट पनि बाली लागेन

बेइजिङ

विषय-सूचि

लाग्छ
यहाँका गगनचुम्बी महलहरुको सीप र सामर्थ चोरेर लैजाऊँ
लाग्छ
यहाँको सभ्यता र सम्पन्नता चोरेर लैजाऊँ
चोरौं-चोरौं लाग्नु स्वयं नशा रहेछ कि कुन्नि ?
यस्तो लाग्छ
बेइजिङका नम्र मान्छेहरुको मुलायम मन पनि चोरेर लैजाऊँ !

हराएको साथी मभित्र भेटिंदैन

विषय-सूचि

एउटाले अर्काको हात समातेर
लहरै उभिएर
लाजले किचिएर -अलिक निहुरिएर
मेरा केही साथीहरु
गति छेक्ने मतो गर्दैछन्

हामीले दुर्गन्ध भनेको रछयानलाई
उनीहरु नै नाक थुनेर अत्तर छर्कँदैछन्
मेरा केही साथीहरु दुर्गन्धलाई अत्तर भन्दैछन् ।
मैले त केही साथीहरु गुमाएको ठानेको छु
उनको मस्तिषकमा दुर्गन्ध सञ्चार भएको मानेको छु
देखेको छु
दुर्गन्धलाई अत्तरभन्दा खुम्चिएको नाक छोपेका छन्
देखेको छु
जबर्जस्ती ओठ टोकेर अविश्वास धोकेका छन्
देखेको छु
उनले सभ्यताका मुनालाई उम्रन रोकेका छन्
देखेको छु
सिर्जनाको भारी बोक्छौं भन्ने साथीहरुले
मस्तिषकभरि ध्वंसको बारुद बोकेका छन्
मेरा साथीहरुले
दुर्गन्धलाई अत्तरभन्दा आफ्नै मस्तिषकमा दुर्गन्ध भरेका छन् ।
हिजो हामी सँगै दुर्गन्धका शिकार भएका थियौं
हिजो उनका ठाउँमा उभिनेहरुका लागि हामी बिकार भएका थियौं
दुवैले भनेका थियौं
उज्यालो हुन् लागेको छ ,छेकेर घाम झुल्कन रोकिंदैन
जाल हानेर उज्यालो छेकिंदैन
हो, उज्यालो भयो
एउटा घाम झुल्कियो
हिजो घाम छेक्न, उज्यालो रोक्न खोज्नेहरु
विस्थापित भए ! गए !
मेरो साथी , हिजो घाम छेक्नेका ठाउँमा भए ।
उनी त गएछन्
विवेक छाडेर गएछन्,ईमान हराएर गएछन्
उनी जान त गए
सबै गुण निर्वासन गरेर गएछन्
अवगुणहरुलाई धारिलो पारेर पो गएछन् ।
ठिकै छ, मेरो साथी तिमीलाई मन लागेको गर
बिन्ती , तिमीले हिजो भन्नेगरेका यी हरफहरु एकपल्ट संझ
फुट्न लागेको उज्यालो रोकेर रोकिंदैन
उदाउन लागेको सूर्य छेकेर छेकिंदैन
तिमी दुर्गन्धमा अत्तर दल
तर
अत्तर दलेर दुर्गन्ध रोकिंदैन
मैले त एउटा साथी हराएको छु
मभित्र अब ऊ भेटिंदैन ।

०४९/६/११

मृत्युले मलाई होचो बनायो

विषय-सूचि

आज , म निकै होचो भएको छु
आफ्नै मन र मस्तिषक अपाहिज पाएको छु
सर्वत्र घात खपेको छु
एउटा मित्रसँगै मैले
जून पनि हराएको छु, त्यस्को प्रकाश पनि हराएको छु ।
बल्नै नसकेको बत्ती ढल्यो भने
अ“ध्यारोमा मान्छेको मन छँुदैन
फुल्दै नफुलेको फूलसँग
मान्छेको मोह नै हुँदैन
ऊ त अँध्यारोमा बलेको बत्ती थियो
निभ्यो, सबैको मन अँध्यारो भयो
ऊ देशको , जनताको मान्छे थियो
त्योभन्दा ठूलो ऊ इमान्दार थियो
होनहार थियो ।
कति निर्मम र कठोर हुँदोरहेछ मृत्यु
नौनी र हिउँ जस्तै
नरम र स्निग्ध मेरो मित्रलाई टपक्क टिपेर लग्यो
पत्याउनै गाहारो हुने
मेरो मित्रलाई टिपेर मृत्युले मलाई होचो बनायो
मेरो मन डामेर क्षत-विक्षत बनायो ।

(धनपति उपाध्यायको मृत्युको खबर सुनेर )
२०५३ साल ज्येष्ठ

यसपल्ट पनि बाली लागेन

विषय-सूचि

१. पानी पर्दै परेन
बारीका कान्लाहरु सुके
खेतका गराहरु पटपटी फुटे
बाली लाग्दै लागेन
सलह र बाँदरहरु तैनाथ रहे
विवेकको अनिकालले धेरै मानिसहरु शहीद भए
यसरी त हुँदै भएन भनेर
एउटा पुस्ता जुर्मुरायो / अर्को उठ्यो
अर्को पुस्ताले स्वर थप्यो / आवाज थप्यो
अर्को पनि उठ्यो
साँच्चै आकाशभरि बादल छायो
पानी पर्न थाल्यो /मान्छे ढुक्क भए /बाली लाउन गए ।

२ .पानी पर्यो
तर घनघोर पर्यो
बाली र कान्लाहरु जलमग्न भए
सुकेका नदीहरु बढे
खहरे र खोलाहरु उन्मत्त भए
पानीलाई ओतले थामेन
झरी मान्छेका जीवनभरि भयो
कुनै पुस्ता त वंशज भन्दै
बाँदरमा रूपान्तर भयो
घरभित्र बाँदर हुल्यो
मकै छरेको धेरै परेर पानीले बीउ डुबायो
धान रोपेको धेरै परेर पानीले गाबो डुबायो
अहँ, यसपल्ट पनि बाली लागेन
सिर्जनाका बिरुवाहरु खेर गए
पानी पर्नुको अर्थै रहेन
पानी परेर पनि केही भएन
यसपल्ट पनि बाली लागेन ।

आफ्नो कुरा

विषय-सूचि

२०४८ साल पछि लेखिएका कविताहरुको संकलन निकाल्ने रहरको निकास यो संग्रह हो । महँगी र मान्छेको अस्तित्व भने पुरानै कविता हुन्। यसै त यो संग्रहमा परेका सबैजसो कविताहरु कुनै न कुनै पत्रिकामा प्रकाशित भैसकेका हुन्। यस अर्थमा यसलाई रहर वा स्वभाविकता जे भने पनि हुन्छ होला ।

लाग्छ, आजकाल कविताको खेती सुख्खाग्रस्त छ । यसै त मुलुकमा वेथिती, वेहिसाव, मनपरीतन्त्र चर्किए पछि कविताको खेती फस्टाउनु पर्ने हो तर त्यस्तो भै रहेको छैन । कालखण्डका हिसाबले पनि हिजोकै भूमि उर्वर थियो । हिजोकै कविता प्रज्वल थियो । विकृतिका विरुद्ध आगो उकेल्ने कविहरु नैं आज कतै आगो निभाउन लागेका त छैनन् ? प्रश्न त कठोर हुन् सक्छ ।

वास्तवमा, अनुभूत कुरालाई मिलाएर अभिवक्त गर्नु नैं कविता हो । कविता नराम्रो पनि लाग्न सक्छ । किनभने समाजमा धेरै नराम्रो भै रहेछ । लाग्छ, वर्तमानमा स्वाभिमान– स्वाधीनतासँगै संकटमा परेको छ । संकटमा पार्नेहरु, उनलाई कौतुहलको आ“खाले हेर्यो भने पनि आँखा फोर्न खोज्छन् । स्वर रोक्न खोज्छन् । उनीहरु हिजै जस्तो गर्न खोज्छन् ।

आजकाल परिवर्तन भयो भन्ने एउटा स्वर सुनिन्छ, तर हैन परिवर्तन भएन । यसो भन्नेहरु मात्र परिवर्तन भए । समग्रमा कोही परिवर्तन हुनुको के अर्थ र ? हो, आँखा फोर्न सकिंदैन । स्वर रोक्न सकिदैन । आकास यथावत छ । धरती यथावत छ । परिवेश यथावत छ । आ“खा र स्वरहरुले आगत देखेकै छैनन् । पानी त परेन परेन । पानी परेर पनि केही भएन । लाग्छ– साँच्चै यसपल्ट पनि बाली लागेन ।

भूमिका

विषय-सूचि

 पच्चीसवटा कविताहरुको सँगालो थियो आज भालेलाई वास्न निषेध छ (२०४८)मा । यो पल्टको यसपल्ट पनि वाली लागेन (२०५५)मा पनि यतिकै छेउछाउको संख्यामा कविताहरु छन् । जम्मा-जम्मी लीला उदासी नाउँका नेपाली कविले आफ्ना वर्गतले, क्षमताले दुई संग्रहमा ५० वटा जतिमात्र कविताहरु छापेर दिन सके नेपाली साहित्यलाई । पहिले पनि नेपालमा भाले वासेन, वास्न खोज्दा पनि वास्नै निषेध थियो । अहिले पनि नेपालमा खेती भए, तर वाली लागेन । लीला उदासी जस्तो सचेत कविले आफ्ना कवितामा भालेवासेको गुणगान गर्न सक्तैनन् र पुन: प्रजातन्त्रप्राप्तिपछि पनि नेपालमा राम्रो वाली लागेको छ भनी असत्य वोल्न सक्तैनन् । यो देशमा असत्य उराल्नेले नै स्वार्थसिद्ध गर्न सक्तछ । आज कैयौं छापामा उराला र फलाका छापिएका हुन्छन्, कैयौं नेताले भावनामा उराला उराल्छन् र फलाका फलाक्छन्-तर देशको खेतीमा वाली लाग्दैन । अकासवाट पानी परेको देखिए पनि यहाँको खेतीमा वित्यास परेको छ- वाली लाग्नै सक्तैन ।

कविको, त्यसमा पनि सम-सामयिक कविको, सचेत कविको भूमिका लेख्न हेर्दा सजिलो छ, लेख्तै छु-तर आई.ए.देखि एम.ए.सम्मका पठ्यक्रममा नपरेका लेखक र कविका रचनामा अरु गुदी नपाउलान् म भने तिनमा जटिलता देख्छु । नियाँ नपाएका लेखक-कविलाई नियाँ दिन ठूलै निष्पक्ष न्यायाधीशीय दृष्टि चाहिन्छ । मेरा विचारमा त लीला उदासी नेपाली वौद्धिक जगतको र साहित्यिक क्षेत्रको एउटा आफ्नै पाराको व्यक्तित्व हो । यो व्यक्तित्वका थोरै छन् कविता-२/४ वटा मात्र छन् नया र निकै संख्यामा न सही धेरै छन् लेख-निवन्ध- तिनको एउटा विशिषटपन छ- सरल । सरल भइकन सचेतनतालाई अँगाल्छन् ती रचनाले । वौद्धिक पनि छन्, तर जटिल छैनन् । कविता निवन्ध जस्ता छन् र निवन्ध कविता जस्ता छन् । लीला उदासी लगभग ३ दशकदेखि नेपाली राजनीतिमा छन्, साहित्यमा छन् र वौद्धिक क्षेत्रमा छन् । उनको योगदान झापाली आकाशबाट सूर्य भएर प्रज्ज्वलित छ । अधिवक्ता र कवि लीला उदासीलाई नेपालका धेरैले चिन्दछन् ।

मेरा त लीला उदासीले चेलो हुँ मानेका चेला । लगभग ३ दशकदेखि कक्षामा गुरु-चेलाको सम्वन्धदेखि सँगै छौं । प्रतिभाशाली चेलो मानेरै २०३० को साधना निवनध-संग्रहको भूमिका लेखक वनाएको मैले । सिद्धान्त नफेर्ने चेला उदासी । आदर्श, नीति, नियमका पक्का । राजनीतिमा हारे र सांसद भएनन् । सांसद हुने लोभ वोकेर कुदेका छैनन् । नपत्याउनेलाई म पत्याउन कर गर्दिनँ । घर साधारण, वसाइ साधारण, वोली साधारण, लेखाइ साधारण । म आफूलाई साधारण हुँ भन्ने ठान्छु- जव लीलाको साधारण असाधारण रुपमा देख्छु- छक्क पर्छु । यही मूल व्यक्तित्वबाट उनका रचना जन्मेका छन् ।

मातृविहीनताका कारणबाट पीडित उदासी सधैं शोषित-पीडितका पक्षमा र शोषक-उत्पीडकका विपक्षमा उभिएका छन् । महँगीका विरोधमा हुनु स्वभाविक हो भने संसद र सांसद का विडम्वनाका उनी विरुद्धमा छन् । द्रोणाचार्य उनका परम मित्र हुन् । उनले र लीलाले नै नेपाली कविता-साहित्यमा नेपाली भूमि मिचिएका सशक्त कविता लेखेका छन् । त्यस्ता देशवेचुवाका विरुद्धमा पनि उदासीले कविता लेखेका छन् । झापाका वाम-आन्दोलनको सशक्त नाम पनि हो -लीला उदासी । म त सदा समर्थक मात्र । म साछी छु यहाँका युवकहरुका त्याग-तपस्याहरुका । तव त लाली खण्डकाव्य अप्रकाशित मा मैले लेखें-

यहाँ लौहव्यक्तित्व राधा र चन्द्र
कवि द्रोण-लीला जहाँ वीर-धीर
पढेथे तिहीं थिन् यिनी ज्योति जस्ती
सवैमा परेथ्यो कुतन्त्रे कुदृष्टि

कवि हुन् उदासी । धीर छन् उदासी । अघि पनि उद्दण्ड भएनन् र अहिले पनि सिद्धान्त छाड्ने उद्दण्डता उनमा छैन ।

कवि लीलाका वारे शोध-खोज पनि भयो । २-४ जना समालोचकले कलम पनि चलाए- तर उनको सरल तर गहन चेतना भएको साहित्यिक पक्षको राम्ररी अध्ययन भएको छैन ।

कवि उदासीले आख्यानात्मकता भएका कविता धेरै लेखेका छन् नैं समालोचनात्मक कविता पनि छन् । सम-सामयिक विषयका वढी र केही देशप्रेमका कविता पनि लेखेका छन् । क्यान्सरवार्ड एउटा विशिष्ट त्रासदीमय कविता हो- जसमा कविको मानवीय सहानुभूति प्रखर रुपमा प्रकट भएको छ।

कवि उदासी छोटा पनि र अलिक मझौला खालका कविता लेख्छन् । छन्दोवद्ध कविता उनले लेखेनन् । वकिल भएकाले तार्किकता र भावुक भएकाले हार्दिकताका साथै सचेत भएकाले सचेतनता समेत भएकाले तार्किकता, हार्दिकता र सचेतनताको त्रिवेणी भएका छन् उनका कविता ।

मैले थालनीतिरै संकेत गरें- भूमिका कठिन कार्य हो । भूमिकाले लेखकको सम्पूर्णता उज्याल्न सकिन्न । यो सत्य हो । सत्य जे भए पनि यो भूमिकामा मेरो के राय छ भने लीला उदासीले आफ्नो क्षमता देखाउन निकै ढिलो गर्नुभएको छ- अव चाहिं यस्तो नहोस् भन्ने आशा गर्छु ।

– चूडामणि रेग्मी
चन्द्रगढी ।