मेरो लिम्पियाधुरा

यी कविताको कथा

कतिपय दृश्यहरूले छुन्छन् । मन र मस्तिष्कमा सताउँछन् । त्यस्तो अवस्थामा मनमा लागेको कुरा मिलाएर बताउन जानियो भने कविता पनि हुन सक्छ । यस अर्थमा यी मेरा लिखतहरू कति कविता
हुन् ? कति हैनन् − भन्ने कुरा  पाठकहरू र जान्नेहरूका जिम्मामा छाडेको छु । मैले यी लिखतहरूलाई फेरि एकपल्ट एक ठाउँमा राख्ने रहरमात्र गरेको छु ।

रचना गर्भमा निहित हुनु पर्ने शीप र सौन्दर्यको परिष्कृत पनबाट अलिक टाढा तथा फेदतिरै रहेको मेरो स्विकारोक्ती रहेको छ । कविताको वर्तमान गतिका बारेमा पनि अनेक मत छन् । सुस्त वा द्रुत जे भने पनि यात्रा अघि बढेको छ । थोरै पढिने विधा‚ थोरै लेखिने विधा‚ बजार नरहेको‚ नबिक्ने‚ अनुत्पादक काम आदि जे − जे भनिए पनि कविता बिनाको साहित्य पूर्ण लाग्दैन । धेरैको साहित्यिक यात्राको थालनी विन्दु पनि कविता नै हुन्छ । यस्तै परिवेशमा मलाइ पनि बेला बेलामा कवितामा केही भन्ने रहर जाग्छ र त्यसैको निकासका स्वरूप हुन् यी कविता ।

कविताका विषय अनेक हुन सक्छन् । अलिक छुने र बिझाउने  कुरा भनेको विसङ्गति‚ विकृति‚ शोषण‚ दमन‚ थिचो मिचो‚ अन्याय‚ अत्याचार‚ अराजकता नै हुन् । यस्ता विषयहरू बग्रेल्ती छन् । बेथितिका सर्जकहरूलाई सिर्जनात्मक लेखनले पनि छुन त छुँदैन । आफ्नो कर्म र कर्तव्य जस्तै भनेर उनीहरू आफ्ना कुकर्ममा लागि रहन्छन् र सर्जक पनि उनका कुकर्मका विरुद्धमा लागि रहन्छन् । यस अर्थमा यी कविताहरू पनि यसै धारमा बगि रहने केही थोपा पानी हुन सक्लान् भूगोलको माटो हुन सक्लान् वा फगत मेरा आत्म सन्तुष्टिका खेस्रा मात्रै पनि  ।

त्यसो त नेपाली साहित्यको कविता विधामा पनि अनेक प्रयोग भएका छन् र  अनेक मान्यताहरू अगाडि बढेका छन् । सरलतामा शीप‚ मेरो लेखनको मूल ध्येय  र प्रयत्न हो । तै पनि सौन्दर्य र प्रसाधनको कमी महसुस हुनेछ नै ।

लाग्छ‚ लामो साधना र प्रयासबाट मात्र आकर्षण निर्माण हुन्छ । त्यो जटिल छ‚ सरल छैन । भनिन्छ‚ कविता भित्र अनेक प्रत्यङ्ग पनि हुन्छन् । शक्ति हुन्छ । त्यसलाई आवरण भित्र राख्ने कार्य सफल भयो भने सौन्दर्य शक्ति पनि वृद्धि हुन्छ । हो त‚ सौन्दर्य नै मान्छेलाई हेरौं − हेरौं लाग्ने हुन्छ ।

वास्तवमा कविताको ध्येय पनि सुन्दर समाज हो । हो समाज सुन्दर रहेको भए कविताको स्वरूप पनि अलिक फरक हुन्थ्यो होला तर विकृति र विसङ्गतिका आयाम भने फड्को मारेर विकास भएका छन् । लेखनमा चुनौती थपिएको छ । विग्रह गर्नेहरु बल पूर्वक विनिर्माणमा लागेका छन् । सिर्जनाको आवरणमा छन् तर ध्वड्स गर्छन् । जाल प्रपञ्च रच्छन् र फरेब पनि उनैं लगाउँछन् ।

यस्तो परिवेशमा लेखिएका कविताहरूले थोरै योगदान गर्न सके त्यो मेरो आत्म  सन्तुष्टि हुनेछ ।

बाँकी पाठकहरूको जिम्मा ।

२०७९ पौष ।

मेरो लिम्पियाधुरा

जसले तिम्रो  आर्जन गरे 
जसले  तिम्रो मुलुक बनाएर तिमीलाई दिए 
सुन,!
उनले सुन्दर नेपाल खोस्न चाहेका थिए 
असफल भए	
उनले
जाल गरे, झेल गरे, युद्ध गरे
तर 
लिम्पियाधुरा, लिपुलेक, कालापानी र टीङ्कर लीन सकेनन् 
काङ्गडा, सतलज, दार्जिलिङ र टीष्टा लुटेर
त्यसलाई 
‘सुगौली सन्धि भने ‘
त्यो गरे पनि 
तर ओ ! भारतीय भाइ !
इतिहास पढ 
जे भएको सत्य बुझ
तिमी अहोरात्र
तिम्रो धर्म बाबु  इष्टइण्डिया कम्पनीको पूजा पनि गर 
खुसी गर
तर त्यस्तो पनि सन्धि हुन्छ ॽ कतै ॽ

सतलज, काङ्गडा, टीष्टामा पनि 
हाम्रो रगतको  भल बगेको छ
नदीको पानी भन्दा बढी नै बगेको छ
अहिले 
तिमी त्यहाँको बाली  खाँदैछौ  
तिमिले बोकेको प्रमाण – त्यही सन्धिमा पनि
तिमीले महाकाली छुन नपाउने लेखेको छ
के तिमीले यो राम्रो सँग पढेका छौं ॽ 


तिमीले  त कतै भनेछौ
तिमी ठूलो हौ  
तिमी सम्पन्न छौ 
तिमी शक्तिको टाकुरामा छौं
तिमी अग्लो छौं 
तर के तिमीलाई थाहा छ ॽ
ठूलो हुन के चाहिन्छ ॽ 
यो संसारमा 
तिमिसँग सबैभन्दा सानु मन छ
तिमीसँग   कुरूप अनुहार छ 
छिमेकी सँग तिम्रो घिनलाग्दो व्यवहार छ ।
सानु मन हुने,
कुरूप अनुहार हुने,
छिमेकीसँग घिनलाग्दो व्यवहार गर्ने 
बुझ, कहिल्यै ठूलो हुन सक्दैन
सम्पन्न हुन सक्दैन 
शक्तिको  टाकुरामा पुगे पनि 
उ दुर्बलताको छायाले छोपिएको हुन्छ 
कायर र नैतिक हीन
साँच्चै सधैँ  गरिब हुन्छ 
सबैभन्दा गरिब हुन्छ
 तिमी त्यो गरिब हौं 
ठूलो हुन त नियत  राम्रो चाहिन्छ 
त्यो तिमीसँग छैन 
ठूलो हुन त ठूलो मन चाहिन्छ 
त्यो पनि तिमीसँग छैन 
ठूलो छाती त तिमीसँग  साँच्चै छैन ।

हामी त छिमेकीलाई
मान दिन्छौ 
मन दिन्छौ 
सन्मान दिन्छौ 
बलिदान दिन्छौ 
छिमेकीको रक्षा गर्ने छोराहरू दिन्छौ 
पहरा दिन्छौ 
हामी त छिमेकीलाई ठूलो छाती र मुटु दिन्छौ 
तर तिमीलाई
हाम्रो संविधान बन्दा 
खप्न नसक्ने हुन्छ  
र, हामीलाई भोकै मार्न रहर गर्छौ 
हामी तिमिलाई सद्भाव पठाउँछौ 
तिमी सीमाका पिलरहरू हटाउँछौ 
तिमी तिम्रा खाँचोमा हात पसार्छौ 
बदलामा हाम्रो मन बटार्छौ
हाम्रो कोठेवारि खोस्छौ
किन तिमी सीमाहरूमा आगो झोस्छौ ॽ 
बुझ न !
आगोले तिमीलाई पनि पोल्छ 
आगोले तिमीलाई पनि खरानी बनाउँछ ।
भन !
तिमीले बोकेको सुगौलीको सन्धि 
तिमी मान्ने कि नमान्ने ॽ
रोज
मान्छौ भने 
महाकाली पारी बस्छौ होला !
मान्दैनौ भने 
काङ्गडा र टीष्टा पारी जान्छौ होला !
तर 
जबरजस्तीको माला लगाएर
शिशाको घरमा बसेर 
कति दिन ढुङ्गा हान्छौ ॽ
भो ! भारतीय भाइ !
लिम्पियाधुरा मेरो हो
मेरो लिम्पियाधुरा, 
म मेरो निधारमा त्यहाँको माटोको टीका लगाउँछु
तिमी त्यहाँबाट बाटो लाग 
लिम्पियाधुराबाट भाग 
तिमी जबरजस्ती नगर  ।