Uncategorized

मुलाको मुरली

पछिल्लो पटक मैले “ मुलाको मुरली ” भन्ने किताब पढेँ । यसले मलाइ औधी सन्तुष्टि दियो । हास्य व्यङ्गको  यस पुस्तकका लेखक चूडामणि वशिष्ठ हुनुहुन्छ । वहाँ लामो समय देखि व्यङ्ग लेखनमा कृयाशिल हुनुहुन्छ । राजनीतिका ‚ शिक्षाका ‚ स्वास्थ्यका तथा समाजका हरेक क्षेत्रका विकृतिलाई उभ्याएर प्रहार गर्नु वहाँको लेखनको प्रवृत्ति र विशेषता हो । पढ्न थालेपछि नछोडी पढी रहूँ जस्तो लाग्ने पुस्तकको विशेषता हो । भैरव अर्याल‚ केशबराज पिडाली‚ राम कुमार पाण्डे जस्ता लेखकहरूका कृतिहरूको स्मरण यस कृतिले गराएको छ ।

समाजका आम मान्छेलाई लागेका कुराहरू लेखकका कुरा भकाएछन् । सबैलाई घत लाग्दा कुरा लेखकबाट आएका छन् । भ्रष्टाचार ‚ बेथिति‚ गुण्डागर्दी‚ लापरवाह जस्ता कुराहरूको दोहोलो काढिएको छ ।  शब्दहरू त मुहानबाट फुतफुती निस्के जस्तो लाग्छ । पढ्नै पर्ने किताब लेखकले लेख्नु भएको छ ।  

बाइस शीर्षकमा लेखिएका लेखहरू सबै उम्दा छन् । शीर्षकको छनौट पनि घत लाग्दो छ । १५२ पेजको किताब दिएर लेखकले नेपाली साहित्य भण्डारमा महत्वपूर्ण योगदान पुर्‍याउनु  भएको छ । लेखकबाट यस्तै किताब पढ्न पाइ रहूँ ।   

मुलाको मुरल

पछिल्लो पटक मैले “ मुलाको मुरली ” भन्ने किताब पढेँ । यसले मलाइ औधी सन्तुष्टि दियो । हास्य व्यङ्गको  यस पुस्तकका लेखक चूडामणि वशिष्ठ हुनुहुन्छ । वहाँ लामो समय देखि व्यङ्ग लेखनमा कृयाशिल हुनुहुन्छ । राजनीतिका ‚ शिक्षाका ‚ स्वास्थ्यका तथा समाजका हरेक क्षेत्रका विकृतिलाई उभ्याएर प्रहार गर्नु वहाँको लेखनको प्रवृत्ति र विशेषता हो । पढ्न थालेपछि नछोडी पढी रहूँ जस्तो लाग्ने पुस्तकको विशेषता हो । भैरव अर्याल‚ केशबराज पिडाली‚ राम कुमार पाण्डे जस्ता लेखकहरूका कृतिहरूको स्मरण यस कृतिले गराएको छ ।

समाजका आम मान्छेलाई लागेका कुराहरू लेखकका कुरा भकाएछन् । सबैलाई घत लाग्दा कुरा लेखकबाट आएका छन् । भ्रष्टाचार ‚ बेथिति‚ गुण्डागर्दी‚ लापरवाह जस्ता कुराहरूको दोहोलो काढिएको छ ।  शब्दहरू त मुहानबाट फुतफुती निस्के जस्तो लाग्छ । पढ्नै पर्ने किताब लेखकले लेख्नु भएको छ ।  

बाइस शीर्षकमा लेखिएका लेखहरू सबै उम्दा छन् । शीर्षकको छनौट पनि घत लाग्दो छ । १५२ पेजको किताब दिएर लेखकले नेपाली साहित्य भण्डारमा महत्वपूर्ण योगदान पुर्‍याउनु  भएको छ । लेखकबाट यस्तै किताब पढ्न पाइ रहूँ ।   

● नागरिकता विधेयक

नागरिकता विधेयक

संसदमा अवरोध भएन
रोष्टम कब्जा भएन
घेराउ पनि भएन 
तातो − तातो बहस पनि चलेन 
सामान्य “हुन्छ“ र “हुन्न“ मा 
सभामुखले घोषणा गरे 
“हुन्छ“ मा ध्वनि मत भने
अनि उहिल्यै देखि विवादमा रहेको 
नागरिकता विधेयक संसदबाट फुत्त पास भयो 
त्यहाँ सिउँदोमा सिन्दूर नहाले पनि 
विवाह भएको कागजमात्र भयो भने पनि 
उताबाट आएका बुहारीलाई 
नागरिकता दिइ हाल्ने कुरा पास भयो 
नागरिकता लिए पछि 
सम्बन्ध विच्छेदको कागज बनाए पनि भयो ।
अहिले बाहिर बहस चलेको छ
होटेलमा‚ चियाका टेबुलहरूमा‚ सडकमा‚ गल्लीमा‚ घर घरमा 
जत्र तत्र तातो − तातो बहस चलेको छ
नागरिकता विधेयकमा
मानिसहरू अनेक कोणबाट प्रश्न उठाइरहेछन
र विवाह भएको केही समय नपर्खी 
लगत्तै नागरिकता दिने भनेकोमा 
अनेक कुरा चलेका छन् 
एकजना मित्रले त भने −
विधेयकको नाममात्र मिलेन 
“उताकालाई केही थान नागरिकता दिने विधेयक“ भनेको भए 
ट्याक्क मिल्ने थियो 
त्यत्ति नमिलेको मात्र हो । 
अर्को मित्रले भने−
ठूलो देशका धेरै नागरिकको व्यवस्थापन गर्न पनि यस्तो गरेको हो 
अर्काले भन्यो 
यताकोले त उता विवाह गरेर जाँदा 
सात‚ दश बर्ख पर्खनु पर्छ त ?
अर्कोले निष्कर्ष दियो –
गाउँका दुईजना वृद्ध मर्दा 
धनी वृद्ध र गरिब वृद्धको मृत्यु उस्तै हुन्छ र ?
अनि उताकाले यता आउँदा पर्खनु ?
अलिक पुराना र धेरै बुझ्ने जस्ता लाग्ने केही मित्रहरूले    
महत्वपूर्ण क्रुरा भन्न लागेका थिए 
उनले धेरै बेर आँ− मात्र गरे
फगत आँ− मात्र गरि रहे
थाहा छैन कहिले भन्छन् 
तर हो‚
जब ठूला नेता र नेतृ
उताको राजधानीमा कुरा मिलाउँछन्
र उता नपुगेका लाई पनि यता बस्ने उतैकाले आँखा सन्काउँछन्
हो ‚ बर्षौ देखीको समस्या 
नागरिकता विधेयक संसदबाट फुत्त पास हुन्छ 
कतिलाई त रमिता हेर्ने रहर सम्म हुँदैन 
कुन्नि थाहा छैन 
अब पो  पछि − पछि के − के हुन्छ ?

●भरखरै चुनाव सकिएको छ

अलिक धेरै प्रसाधन थोपरेर 
जबरजस्ती निर्माण गर्न खोजेको सौन्दर्य 
पसिनाले लतपतिएर‚ पानीले बगाएर
निर्मित यथार्थ आकृति जस्तै भएर 
भरखरै चुनाव सकिएको छ ।
अहिले  गाउँ गाउँमा नानीहरू चुनाव खेलि रहेछन्
टीकट किन्छन्
उम्मेद्वार हुन्छन् 
चुनाव प्रचार गर्छन्
दुई समूह  बनेर 
एकले अर्कालाई गाली गर्छन्
गाली गलौज नगर्न पाकाहरूले सम्झाउँदा 
नानीहरू भनी रहेछन् 
“हामी नेता हौ 
गाली गरेर पनि जित्नु छ‚
टिकट किनेर चुनाव लडेका हौ
पैसा बाँडेर पनि जित्नु छ 
मुड्की हानेर पनि जित्नु छ” ।
नानीहरू नाची रहेछन् 
नानीहरू गाई रहेछन् 
नारा लगाउँछन् 
चुनाव रमाइलो छ
नानीहरू रमाइलो बाँडी रहेछन् 
नानीहरू अन्तर्घात खेली रहेछन् 
षडयन्त्र‚ घात र प्रति घात पनि खेली रहेछन्
अहिले
नानीहरू चुनाव लडी रहेछन् 
नानीहरू चुनाव लडाइ रहेछन् 
भरखरै चुनाव सकिएको छ
तर
नानीहरू चुनाव खेली रहेछन् ।
  जेठ ११‚ २०७९  ।

● मान्छे र मान्छेको भविष्य

सभ्यताको विरुद्धमा आयो
सृष्टिका बिरुद्धमा आयो
सिर्जनाका बिरुद्धमा आयो
मान्छेका बिरुद्धमा आयो
ध्वंस र उजाड लिएर आयो
विरह र शोक सुसेल्दै आयो
मान्छेका मनमा अत्यास छाउने गरी आयो
भाइरस मान्छेको हुर्मत लीनेगरी आयो
ज्यान लीनेगरी आयो
महामारी बनेर आयो ।
सङ्कटबाट जोगाउँदा जोगाउँदै
खुस्किएका छन् अनगिन्ती जिजीविषाहरू
कुमारी मनमा वैधव्य पोखिएको छ
ओहो ! कति धेरै फुलहरू झरी सके
कोपिला र बेर्नाहरू कति ? सुकिसके
अत्यासको त
हुरी पनि र बाडी पनि
चलिरहेछ‚ बगी रहेछ
विग्रह पहाड चढी सक्यो
थामिने चेष्टा छैन
लाग्छ‚
धेरै जीवनमा अन्धकार पोतिएको छ ।
चिन्ता ग्रस्त हुनुपर्ने
अगुवाहरू घरभरि छन्
उनीहरूको कुनै मतो छैन
कसैले आफ्नो पुरानू धुन छाडेको छैन
कारोबार छाडेको छैन
कमिसन छाडेको छैन
लाग्छ‚ कति अगुवाहरू त
उसलाई
स्वागत गर्न
मेरो देशको सिमानामा‚
लाम लागेछन्
भ्रष्ट र कमिसन प्रिय बनेका छन्
र प्रदेशहरू अस्त व्यस्त छन्
अग्ला अग्ला मान्छेहरू अझै मस्त छन्
मतियार झैँ
एक पटक हाइ मात्र काढेका छन्
लाग्छ‚
के अझै उनको निन्द्रा खुलेको छैन ?
अझै कति उजाड हुने हो ?
कति बीभत्स भेल बनेर आउने हो ?
कति फूलबारी बगर हुने हो ?
कति खर बारीमा डढेलो लाग्ने हो ?
के अब संसार नै उसको हुन लागेको हो ?
ए ! मेरो देशका अग्ला अग्ला मान्छे हो !
घर छ¸ चौतारी छ
तर उसलाई परास्त गर्न
किन मतो हुन्न ?
तिम्रो त्यो अग्लो अग्लो काया
बाङ्गो भैँ सक्यो
किन तिमीलाई नाङ्गो भएको थाहा छैन ?
शोक ध्वनिमा कति रमाउँछौ ?
जाग न
रोकौं¸
रगत र आँसुको पोखरी
र बचाऊँ¸ मान्छे र मान्छेको भविष्य ।
वैशाख ६ । २०७८

● भत्काउनेहरु

उनीहरू‚
नियतमा खोटै खोट
र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर
केही गर्न
तयारीमा देखिन्छन्
सकृय छन्
र अहिले त भत्काउदैछन्
घर‚ रहर‚ जीवन र मन
भत्काइ रहेछन्
धुलो‚ माटो र वन
र उनीहरूलाई मज्जा भइरहेछ
हँसिला भकाएछन्
कुरूप भएपनि
उनीहरू आफैलाई आफू सुन्दर सुन्दर लागेको छ /
घर भत्काउनेहरु
फगत घर भत्काउँदैनन्
मन भत्काउछन्
आस्था भत्काउछन्
विश्वास भत्काउछन्
मान्छेको ओत भत्काउछन्
सियाँल भत्काउछन्
निन्द्रा भत्काउछन्
मान्छेको भोक भत्काउछन्
र शोक फलाउँछन्
हो‚ उनीहरू
घर सँगै मान्छे भत्काइ रहेछन्
मान्छेसँग आफै भत्किई सकेपछि
के बाँकी रहन्छ र ?
सिर्जनाको नारा लगाउने उनीहरूले
ध्वंसको तोप पड्काएपछि
झूट‚ धोका र अविश्वासको खेती गर्नेले
सद् विचारको माला लगाएपछि
लाग्छ‚ मुलुकमा कार्टुनको उद्योग खुलेको छ
खूबै फस्टाएको छ उद्योग
मूल्य घटेको छ‚ कार्टुन र प्रहसनको
मूल्य घटेको छ
आस्था र प्रचलनको
मूल्य घटेको छ
मान्यता र सन्मानको
मूल्य घटेको छ
इमान र नीतिको ।
मैले त
उनको अनुहार पनि राम्रो देखेको छैन
बानी पनि राम्रो देखेको छैन
उनले पिउने पानी पनि राम्रो देखेको छैन
नियतमा त
बाहिर पनि
भित्र पनि
खोटै खोटको चाङ् छ
उपहार दिन
चोटै चोटको भण्डार छ
तिनलाई
के मन पर्यो उनको ?
यसरी हत्ते गरेका छन्
थाहा‚ छैन उनीहरू किन कसको फेला परेका छन् ?
हो‚
भत्काउन रहर गर्नेहरु
घर भत्काउछन्
रहर भत्काउछन्
मन भत्काउछन्
जीवन भत्काउछन्
भत्काउन मज्जा पाउछन्
ढाडे मन भाकाहरूलाई के थाहा ?
जे भत्काएका छन्
त्यो कसले बनाएको हो ?
त्यसैले त उनलाई भत्काउन स्वाद लाग्छ
उनलाई भत्काउन रहर लाग्छ
र उनीहरू भत्काइ रहेछन्
सिर्जना भत्काइ रहेछन्
बिरुवा भत्काइ रहेछन्
अँखा र मन भत्काइ रहेछन्
समय भत्काइरहेछन्
इतिहास भत्काइरहेछन्
वर्तमान भत्काइ रहेछन् ।
मलाइ मेरो समय प्यारो लाग्छ
बचपन युवा र प्रौढ बनेको मेरो जीवन प्यारो लाग्छ
मेरो माटोपनि र धूलो प्यारो लाग्छ
आफैलाई बेचेर संभ्रान्त हुनुभन्दा
मलाइ मेरो गरिबी प्यारो लाग्छ
त्यसैले
सावधान ! मलाइ नभत्काउ
मेरो धूलो मेरो हिलो र मेरो पानी नभत्काउ
मेरो चित्र मेरो माया र मेरो मान्छे नभत्काउ
हाम्रा आँखा नभत्काउ
हाम्रो कथा र इतिहास नभत्काउ
हामीलाई नभत्काउ ।
२०७८ वैशाख ।

Elementor #1384

आमा

चेतना शून्य, अन्धकार र अनकन्टार रहेछ त्यति बेला फुएतप्पा । कुरा सुन्दा, शायद निमोनियाँ र डाइरिया भएको थियो, मेरी आमालाई । म ९ महिना र केही दिनको रहेछु । मेरी आमा बित्नु भए छ । दबाइको कुनै चक्की र झोल भेट्नु भएन छ । हुन्थ्यो, त्यस्तै नै । पाँचथरको आरुबोटेबाट बचपनमै विवाह गरेर मेरो बाले ल्याउनु भएकी मेरी आमाले फुएतप्पाको गृहस्थमा जीवन गुजार्नु भयो । हामी तीन छोरा र दुई छोरीलाई जन्म दिएर २००६ सालको चैत्रमा मेरी आमा यस लोकबाट बिदा हुनु भए छ । म १० महिना पनि नपुगेको चिचिलो रहे छु । यसरी शुरु भए छ, चेतना शून्य, अन्धकार र त्यस बेलाको अनकन्टार फुएतप्पामा मेरो जीवन । यसरी नै मेरी आमाको इह लीला पनि समाप्त भएको रहेछ । अरू बालकलाई आमाको माया ममता¸स्नेह जसरी बोध हुन्छ ¸मलाइ त्यसरी बोध भएन ।
मैले आमाका बारेमा केही लेख्न रहर गरेको छु । मलाइ सजिलो भै रहेको छैन । जसलाई मैले देखेको थिएन¸ जसको मैले माया बोध गरिन ¸जसलाई म सम्झन सकतिन र जसलाई जान्ने उचित सामाग्री भेटिँदैन । त्यति बेला फोटो खिचिने प्रविधि त्यस ठाउँमा भित्रिएको थिएन । फोटो छैन । मेरी आमा लाइ देखेको कुनै चित्रकार भै दिए म उसलाई अनुरोध गरेर एउटा चित्र बनाइ माग्ने थिएँ । त्यो पनि भएन । ठूली आमा ¸सानी आमाहरू र मामाहरूको अनुहार सम्झेर मैले आमाको अनुहारको अनुमान गरे । त्यो त फगत अनुमान रहयो कुनै टुङ्गो लागेन । त्यसता मान्छेका बारेमा लेख्न सजिलो हुँदैन तर मैले लेख्ने रहर गरेको छु । मलाइ नै थाहा छैन के लेख्छु ?
मलाइ आमाको जन्म मिति ठीक थाहा छैन । मेरो अनुमानमा बि सं १९७० को आसपास हुनु पर्छ । बि सं २००६ सालमा लगभग ३५।३६ वर्षकी हुँदा बित्नु भएको हो । मेरो ठूलो दाजु टीका नाथ खनाल १९९० सालमा जन्मनु भएको थियो । आमा कति वर्षकी हुँदा विवाह भयो भन्ने बारे मलाइ ठीक जानकारी नभए पनि १० वर्षकै आसपासमा विवाह भएको हुनु पर्छ । त्यति बेला विवाह गरेर तीन वर्ष देखि पाँच वर्ष माइतमै छाड्ने चलन थियो । त्यस पछि मात्र मैतालु ल्याउने चलन थियो । त्यसै गरियो होला ।
आमा आरुबोटे बाझोगरामा जन्मनुभयो । त्यहाँ १४ , १५ वर्षसम्म बस्नुभयो र फुएतप्पामा आउनुभयो । ३५¸,३६ वर्षको उमेरमा बित्नु भयो । २०¸२२ बर्ष फुएतप्पामा बिताउनु भयो । कुरा त यति नै हो तर मैले यति भित्रबाट लेख्न खोजेको छु । लेख्ने कुरा पनि छैन । आमा माइतकी माइली छोरी , घरको जेठी बुहारी हुनुहुन्थ्यो । छोरीलाई माइतमा सहज हुन्छ । घरमा गाह्रो हुन्छ । अझ त्यो समयमा एउटी किशोरीलाई पर घरमा हुने असहजता अनुमान गर्न सकिन्छ । त्यो बेलाको फुएतप्पाको खनाल परिवारमा एउटी किशोरी मैतालुका रूपमा भित्रिँदा मेरी आमालाई पक्कै सहज थिएन । त्यो भन्दा सहजको अर्को बाटो पनि थिएन ।
संयुक्त परिवार, जेठी बुहारी , त्यस बखतको प्रचलन , वास्तवमा महिलाहरू धन्य बाँच्थे । त्यस बेलाको महिला चेतना र विवाह गर्ने उमेर सम्झदा अत्यास लाग्दछ । हुन त भर खरै सम्म सती प्रथा चलेको समय थियो, त्यो समय । एक हिसाबले सम्झदा सती हुनु भन्दा कठोर थियो महिलाहरूको त्यो बेलाको जीवन । महिला अधिकारका चर्चा नचल्ने त्यो समयमा महिलाहरूमा के गुज्रेको थियो भनेर अहिले पनि कसैले सोचेका छैनन् । साथै महिला अधिकारका अभियन्ताले पनि इतिहास नियाल्न जाँगर चलाएका छैनन् । हो ¸महिलाहरु सती हुदा एकपटक मर्थे । सती हुनु भन्दा अगाडी पटक पटक मर्थे । त्यसरी जीवनमै पटक पटक मरेको कुराको त अहिले सम्म हिसाब नै छैन ।
त्यो समयमा फुएतप्पाकी जेठी बुहारी भनेको भालेको डाकमा उठ्ने , पानी भर्ने, दैलो अगेनो पोत्ने , भात भान्सा तयार गर्ने, केटाकेटी ठूला बडा सबैलाई खुवाउने , धन्दा सक्ने , राहुते नर्कटे तथा घर बारीतिरको मेलो भ्याउने, गाइ बस्तुलाई घाँसपात खोलेको बन्दोबस्त गर्ने र भकारा सोहोर्ने आदी हो । बेलुका पनि भात भान्सा र जुठो भाँडो सकेपछि ठूला मान्छेहरूलाई गोडामा चिल्लो लगाइ दिए पछि मात्र सुत्न पाउने समय आउने हो । अझै ढिकी जाँतो गर्ने जिम्मा पनि बुहारीको हो । संक्षेपमा भन्दा बुहारी भनेको त्यस घरकी गतिलो करिया हो । मेरी आमाले त्यस्तै करियाको जीवन बिताउनु भयो । त्यस समयका सबै आमाहरु त्यस्तै करिया हुन्थे ।
आज पनि निम्न बर्गकाआमाहरुको अवस्थामा धेरै सुधार त भएको छैन । माता तिर्थे ‌औसीका दिन फेसबुकका वालमा फोटो राखेर बर्ष भरि आमाको बेवास्ता गर्ने प्रबृत्ति भने व्हात्तै बढेकोछ । आजको दिनले जीवित आमाहरुलाइ स्याहार संभार र सन्मान गर्ने प्रेरणा सबै सन्तानहरुलाइ प्राप्तहोस् ।

● मेरो लिम्पियाधुरा

जसले तिम्रो आर्जन गरे
जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए
सुन,!
उनले सुन्दर नेपाल खोस्न चाहेका थिए
असफल भए
उनले
जाल गरे, झेल गरे, युद्ध गरे
तर
लिम्पियाधुरा, लिपुलेक, कालापानी र टीङ्कर लीन सकेनन्
काङ्गडा, सतलज, दार्जिलिङ र टीष्टा लुटेर
त्यसलाई
‘सुगौली सन्धि भने ‘
त्यो गरे पनि
तर ओ ! भारतीय भाइ !
इतिहास पढ
जे भएको सत्य बुझ
तिमी अहोरात्र
तिम्रो धर्म बाबु इष्टइण्डिया कम्पनीको पूजा पनि गर
खुसी गर
तर त्यस्तो पनि सन्धि हुन्छ ॽ कतै ॽ
सतलज, काङ्गडा, टीष्टामा पनि हाम्रो रगतको भल बगेको छ
नदीको पानी भन्दा बढी नै बगेको छ
अहिले
तिमी त्यहाँको बाली खाँदैछौ
तिमिले बोकेको प्रमाण – त्यही सन्धिमा पनि
तिमीले महाकाली छुन नपाउने लेखेको छ
के तिमीले यो राम्रो सँग पढेका छौं ॽ
तिमीले त कतै भनेछौ
तिमी ठूलो हौ
तिमी सम्पन्न छौ
तिमी शक्तिको टाकुरामा छौं
तिमी अग्लो छौं
तर के तिमीलाई थाहा छ ॽ
ठूलो हुन के चाहिन्छ ॽ
यो संसारमा
तिमिसँग सबैभन्दा सानु मन छ
तिमीसँग कुरूप अनुहार छ
छिमेकी सँग तिम्रो घिनलाग्दो व्यवहार छ ।
सानु मन हुने,
कुरूप अनुहार हुने,
छिमेकीसँग घिनलाग्दो व्यवहार गर्ने
बुझ, कहिल्यै ठूलो हुन सक्दैन
सम्पन्न हुन सक्दैन
शक्तिको टाकुरामा पुगे पनि
उ दुर्बलताको छायाले छोपिएको हुन्छ
कायर र नैतिक हीन
साँच्चै सधैँ गरिब हुन्छ
सबैभन्दा गरिब हुन्छ
तिमी त्यो गरिब हौं
ठूलो हुन त असल नियत चाहिन्छ
त्यो तिमीसँग छैन
ठूलो हुन त ठूलो मन चाहिन्छ
त्यो पनि तिमीसँग छैन
ठूलो छाती त तिमीसँग साँच्चै छैन ।
हामी त छिमेकीलाई
मान दिन्छौ
मन दिन्छौ
सन्मान दिन्छौ
बलिदान दिन्छौ
छिमेकीको रक्षा गर्ने छोराहरू दिन्छौ
पहरा दिन्छौ
हामी त छिमेकीलाई ठूलो छाती र मुटु दिन्छौ
तर तिमीलाई
हाम्रो संविधान बन्दा
खप्न नसक्ने व्यथा लाग्छ
र, हामीलाई भोकै मार्न रहर गर्छौ
हामी तिमिलाई सद्भाव पठाउँछौ
तिमी सीमाका पिलरहरू हटाउँछौ
तिमी तिम्रा खाँचोमा हात पसार्छौ
बदलामा हाम्रो मन बटार्छौ
हाम्रो कोठेवारि खोस्छौ
हाम्रा घर र सीमाहरूमा आगो झोस्छौ
बुझ न !
आगोले त तिमीलाई पनि पोल्छ
आगोले तिमीलाई पनि खरानी बनाउँछ ।
भन !
तिमीले बोकेको सुगौलीको सन्धि
तिमी मान्ने कि नमान्ने ॽ
रोज
मान्छौ भने
महाकाली पारी बस्छौ होला !
मान्दैनौ भने
काङ्गडा र टीष्टा पारी जान्छौ होला !
तर
जबरजस्तीको माला लगाएर
शिशाको घरमा बसेर
कति दिन ढुङ्गा हान्छौ ॽ
भो ! भारतीय भाइ !
लिम्पियाधुरा मेरो हो
मेरो लिम्पियाधुरा,
म मेरो निधारमा त्यहाँको माटोको टीका लगाउँछु
म मेरो मात्रृभूमिलाइ ढोग्छु
तिमी त्यहाँबाट बाटो लाग
लिम्पियाधुराबाट भाग
तिमी जबरजस्ती नगर ।

● यात्रा

म टक्क उभिएको छु । मान्छेहरू भन्छन् – “उभिनु नै पनि ठूलो कुरा हो ।” मान्छेहरू नै भन्छन् – ”उभिनु नै त केही होइन ।” मलाइ लाग्छ, दुवैका कुरा हुन् पनि, हैनन् पनि । जे होस्, म उभिएर हेर्दै छु । म वरपरका कुरा हेर्दै छु । नजिकका कुरा पनि हेर्दै छु । अतीतका कुरा सम्झदैछु । भविष्यका कुरा अनुमान गर्दै छु । म उभिएको छु ।धेरैलाई भद्दा लाग्न सक्छ । टक्क उभिएको दृश्य मन नपर्न सक्छ । अरूको दृश्य हेरेर आनन्द लीनलाई यो दृश्य सकस लाग्न सक्छ । मलाइ उभिन मन परेको छ । म उभिएको छु । रमाइलै पनि छ । म उभिन पाएको छु । म उभिन सकेको छु । संसारमा मान्छेलाई आफू राम्रो लाग्छ । आफ्नै कर्म राम्रो लाग्छ । सत्कर्म त राम्रो लाग्ने नै भयो । मान्छेलाई आफ्नो कुकर्म पनि राम्रै लाग्छ । अनि त संसारमा कुकर्म पनि फस्टाएको छ त !त्यसो त उभिने मात्रै कार्यसँग म पनि सन्तुष्ट छैन । उभिए पछिको कार्य हिँड्नू हो । दौडनु हो । दौडनु र हिँड्नु अगाडीको कार्य उभिनु भएर नै उभिनू को महत्व रहेको होला । तर म हिँड्न सकेको छैन । दौडन सकेको छैन । दौडन, हिँड्न रहर नै नभएको त कहाँ हो र ॽ तर दौडने र हिडने कृयाले पुर्याउने स्थानको अनिश्चयले उभिन उचित लागेको छ । हिँडिरहेका र दौडिई रहेका लाइ मेरो कृया दिगमिग लाग्दो हो । मलाइ भने यसैमा आनन्द छ ।रहर त सबैको हुन्छ । रहर टिप्न टाकुरामा पुग्नु पर्छ । हिड्नै पर्छ । दौडनै पर्छ । अरनीमात्र टाकुरामा पुग्न सकिन्छ । टाकुरो झन् पहेली युक्त हुन्छ । टाकुरामा पुगेपछि फेदीमा खस्न पनि सकिन्छ । जसलाई फेदीसँग डर छ उनले टाकुरा सम्म नदौडे हुन्छ । नहिडे हुन्छ । अनि सधैँ दौडन रहर गर्नेहरु एक दिन टाकुरामा पुग्दा हुन् । त्यहाँ पनि उनलाई दौडन रहर लाग्दो हो । टाकुराबाट ती कता दौडदा हुन् ॽ मेरा मनभरि कौतूहल जागेको छ ।हिँड्नु यात्रा हो । यात्रा रमाइलो हुन्छ । यात्राले नयाँ अनुभव र अनुभूति दिन्छ । त्यसैले त यात्रा रोचक हुन्छ । दृश्यमा रोचक, भोग्नमा रोचक, खानपान लगायत हरेक क्षेत्रमा रोचक हुन्छ । मानिसहरू त्यो रोचकतामा रङ्ग पनि लाउँछन् । रङ्ग भरिएको रोचकता झनै उत्साहको हुन्छ । अनि त मान्छेहरू कलाकार बन्छन् । कूची लिएर चित्र सजाउँछन् । आफूलाई भन्दा चित्रलाई माया गर्छन् । सिर्जनशीलहरुको चरित्र र प्रवृत्ति नै यस्तै हुन्छ र नै सिर्जना मौलाउँछ । सर्जकहरू सिर्जनासँग कुरा गर्छन् । उन लाइ लाग्छ, उनले सिर्जनाको कुरा बुझ्छन् । सिर्जनाले उनको कुरा बुझ्छ । वास्तवमा बुझाबुझ नै त कुरा हो । यसरी सर्जक र सिर्जनाका बीचमा माया र प्रेम मौलाएको हुन्छ ।यात्रा रमाइलो यसै छँदैछ । यात्रामा दृश्यहरू प्राकृतिक पनि र कृत्रिम पनि हुन्छन् । प्राकृतिक सबल र सजीव हुन्छन् नै । कृत्रिम भने हेर्न र देख्न सक्नु पर्छ । दुवै रमाइला हुन्छन् । दुवैको आ – आफ्नै पन र प्रकृति हुन्छ । दुवैले आफ्नै प्रकारको आकर्षण र स्वाद सिर्जना गरेका हुन्छन् । यात्राका अनगिन्ती स्वाद, सन्तुष्टि र आनन्द नभए किन यात्रा गरिन्थ्यो ॽ किन मानिसहरू घुमी रहन्थे ॽ यस युगमा यात्रा सहज बन्दै गएको छ र यात्रा जीवनको अभिन्न अङ्ग बनेको छ । विश्वको कुनै पनि कुना अब मानिसलाई नयाँ र पहुँच बाहिरको रहेन । अनि त यात्रा सहज र जीवनको अभिन्न अङ्ग बन्यो ।प्रश्न त टक्क अडिएर गर्ने यात्राको पनि हो । त्यो पनि एक प्रकारको रमाइलो हुन्छ । अझ त्यहाँ श्वैर कल्पनाको प्रयोगले यस्तो यात्रालाई हराभरा बनाउन सकिन्छ । अनुभव र अनुभूति जुटाउन सके यस्तो यात्रा अझै रोमाञ्चक बन्छ । यस्तो यात्रामा राहदानी र प्रबेशाज्ञाको ‌औपचारिकता जरुरी पर्दैन । कुनै प्रकारको बन्धन रहँदैन र त यस्तो यात्रा औधी रमाइलो बन्छ ।यस्तो यात्रामा बन्द महलको भित्रि भाग हेर्न सकिन्छ । मान्छेका कर्म हेर्न सकिन्छ । सत्कर्म, दुष्कर्म सबै हेर्न सकिन्छ । रहरलाग्दा र घिन लाग्दा कर्महरू हेर्न र बुझ्न सकिन्छ । मान्छेको मन हेर्न , रहर हेर्न सकिन्छ । एउटै मान्छेलाई अनेक कोणबाट गन्न सकिन्छ । मान्छेलाई क्लिष्ट र शिष्ट पनि बनाउन सकिन्छ । मान्छेलाई सरल र जटिल जताबाट नाप्न सकिन्छ । त्यसैले यस्ता यात्रा अनुभूत गर्न सके रमाइला हुन्छन् तर फगत अनुभूत गर्न सकिन्छ । अनुभव गर्न भने सकिँदैन ।त्यसो त यात्राका अनेक उदेश्य हुन्छन् । दिशा र गन्तव्य अनेक हुन्छन् । आफ्नो उदेश्य र गन्तव्यका आधारमा प्राप्तिले सन्तुष्टि निर्धारण गर्दछ । सन्तुष्टि पनि भोग र अनुभूतिमा भर पर्दछ । त्यसैले यात्रा जसरी पनि हुन्छ र सन्तुष्टि जसरी पनि प्राप्त हुन्छ , फगत उपभोगको तरिकामा मात्र भर पर्दछ ।मैले हेरेको छु । दौडनेहरु हेरेको छु । दौडी रहेका पनि हेरेको छु । टाकुरामा चढेका हेरेको छु । टाकुराबाट खसेका पनि देखेको छु । नोक्सानको जोखिम छलेको टक्क उभिनु लाइ मैले ठीक पाएको छु । हो म टक्क उभिएको छु । हेर्दै छु ।यात्रामा मैले घोडाहरूको दौड हेरेको छु । धूलो उडेको देखेको छु । टापको टक – टक आवाज सुनेको छु । धूलो ब्यहोर्न अभ्यस्त भएको छु । टापलाई त संगीत नै ठानि दिएको छु । हो, घोडाहरू दौडिई रहेछन् । म हेर्दैछु । टापहरू बजिई रहेछन् म सुन्दै छु । यात्रामा घोडाहरू बग्रेल्ती देख्दा टापहरूको संगीत बेजोडको सुनिदो रहेछ । म हेर्दै छु र सुन्दै छु । यो यात्रा हो । म टक्क उभिएको छु ।