- Home
- मनका नायकहरू
- बेचन हरिजन बाँचिरहनेछ
बेचन हरिजन बाँचिरहनेछ
मेची क्याम्पसको विज्ञान भवनमा त्यो भवन बनाउन चन्दा दिनेहरुको नाम लेखिएको छ। यस्ता भवनहरूमा चन्दा दाताहरूको नाम लेखिने कुरा सामान्य हो । यस्तै, यस कुरालाई सामान्य रूपमा पनि लिन सकिन्छ र यहाँ अलिकति असामान्य कुरा पनि पाइन्छ । त्यो असामान्य कुरा के भने त्यो सूचिको शिरमा बेचन हरिजनको नाम लेखिएको छ । दाता बेचन हरिजनले मेची क्याम्पसको विज्ञान भवन बनाउनलाई पच्चीस रुपैयाँ प्रदान गरेको लेखिएको छ ।
घनश्याम खनाललाई कुन्नि ? कति झापालीहरुले सम्झिरहेका छन् ? तर धेरै मान्छेहरूले मेची क्याम्पसभन्दा अगाडि घनश्याम खनाललाई सम्झन्छन्। यसै त घनश्याम खनाल मेची क्याम्पसमा मात्र कैद हुने नाम हैन, यो नाम त नेपालको शैक्षिक आन्दोलनका एक अग्रणीको नाम हो। उनै अग्रणीले जन्माएको मेची क्याम्पस विज्ञान भवनको निर्माण गर्दा चन्दा दिनेहरुका नाम सूचीको शिरमै बेचन हरिजनको नाम छ । घनश्याम खनाललले बेचन हरिजनबाट पच्चीस रुपैयाँ चन्दा उठाएर त्यो भवन निर्माण कार्यको थालनी गर्नु भएको थियो– त्यसै कारण बेचन हरिजनको नाम विज्ञान भवन बनाउन चन्दा दिने दाताहरूको सूचिको शिरमा लेखिएको छ ।
घनश्याम खनालले पहिलो चन्दादाता बेचनलाई नै रोज्नुभयो। बेचनका
ठाउँमा नाम राख्ने शर्तमा झापाका पैसावालहरुको नाम राखेर लाखौँ रुपैयाँ एकै व्यक्तिबाट उहाँले असुल गर्न सक्नुहुने थियो, तर उहाँले त्यस्तो रोज्नु भएन– बेचनलाई नैं रोज्नुभयो। बेचनलाई किन रोज्नुभयो ? धेरैले यो प्रश्न जटिल सम्झेका हुन सक्छन् । सरल सम्झने कतिले त निन्द्रा नआइकन निदाएको भान पनि गरेका हुन सक्छन्– त्यस्ताले घनश्याम खनालको भावना बुझ्न सक्दैनन् । वास्तवमा, घनश्याम खनालले एक नम्बरी कमाइबाट मात्र क्याम्पस भवन बनाउन चाहनुभएको थियो। परिश्रमबाट आर्जन गर्नेहरुले एक गाँस काटेर दिएको दानबाट क्याम्पस भवन बनाउन चाहनुभएको थियो । तस्करी, भ्रष्टाचारी, बेइमानी गरेर कमाएको रकम त्यो भवनमा मिसाउन उहाँले चाहनुभएन ।
वास्तवमा बेचन हरिजन घनश्याम खनालको चाहनाको प्रतीक हुन्। मान्छेहरू बेचन हरिजन जस्तै श्रम गरुन् र आफ्नो मेहनतको कामाईबाट दुई पैसा राम्रो काममा दिउन्– घनश्याम खनालको चाहनाको सार यस्तो हो । यो पनि हो, सभ्य सुसंस्कृत समाजको निर्माण होस ।
घनश्याम खनालले बेचन हरिजनबाट झापाका धेरै धनाढ्यहरूलाई कसिलो झापड ठोक्नु भएको छ। कहिले कहिले क्याम्पसमा पुगेर बेचनको नाम हेर्ने धेरैलाई त्यहाँ आफ्नो नाम हुन नसकेकोमा छटपटी हुन्छ। त्यो छटपटीमा पर्नेहरु दुई नम्बरी आर्जन गर्नेहरु हुन्छन्– बेचनको नामले आहत छन् ।
बबुराहरूले यस्तो सोच्न सकेका छैनन्– उनको कमाइ कति छ ? त्यो कमाइ गर्ने उनीहरूले क्याम्पस भवन बनाउन, बेचनले त्यति दिदा कति दिनु पर्ने हो ? के उनीहरूसँग बेचनको जत्रो छाती छ ? आँट छ ? कि घनश्याम खनाल जस्ताको साथ छ ?
समाज दुई नम्बरी कमाइले थङथिलो भएको छ । दुई नम्बरीको वालि हुर्काउनेहरु क्याम्पस र क्याम्पस जस्तै संस्थालाई चुसेर खान जाँगर चलाउँछन्। अब उनीहरूलाई प्रतीकात्मक रूपमा झापड हान्ने घनश्याम खनाल पनि हुनुहुन्न । बिचरा बेचन हरिजनको पनि यसै बर्ष निधन भएको छ ! तर झापामा तस्करी र त्यस्तै काम गरेर करोडौँ कमाउनेहरु भन्दा ठाडो शिर लगाएर बेचन हरिजन बाँचेको छ ! ऊ कहिल्यै मर्दैन, घनश्याम खनालको छेउमा ऊ हाँसेर बाँचेको छ । हो, घनश्याम खनालका छेउमा बेचन हाँसेर बाँचेको छ ।